धरानः प्रदेशस्तरीय प्रतिभा खोज प्रतियोगिता “मिस्टर एण्ड मिस प्रोभिन्स आइडल” को तेस्रो संस्करणमा रेखा लुम्फुङ्वा लिम्बु र सुजल लिम्बुले मुख्य उपाधि जित्न सफल भएका छन्।
ड्रिम्स एम प्रोडक्सनद्वारा आयोजना गरिएको यो कार्यक्रम धरानस्थित सुनसरीको सदन सभाहलमा भव्यताका साथ सम्पन्न भएको हो।
कार्यक्रममा मिस प्रोभिन्स सुनसरी तर्फ रेखा गुरुङ र मिस्टर प्रोभिन्स सुनसरी तर्फ साम्देन तामाङले उपाधि जितेका छन्। प्रतियोगितामा विभिन्न चरण पार गर्दै अङ्किता लामा र सुजल जङ बस्नेत फर्स्ट रनरअप, नुमा चेम्जोङ र रिन्छेन तामाङ सेकेन्ड रनरअप तथा सुनिता विश्वकर्मा र बबिन तामाङ थर्ड रनरअप घोषित भए।
मुख्य विजेताले नगद रु ५० हजार, ट्रफी, गिफ्ट ह्याम्पर, साथै भिजन फिटनेसबाट तीन महिनाको निःशुल्क जिम सुविधा र धरान फिटनेस क्लबबाट एक महिनाको निःशुल्क सदस्यता प्राप्त गरे।
सबटाइटल विजेताहरूको चमक
कार्यक्रममा विभिन्न शीर्षक अन्तर्गत सबटाइटल अवार्डहरू पनि प्रदान गरियो। मिस क्याटेगोरीमा मिस बेस्ट वक खुशि मगर, मोस्ट डिसिप्लिन रेखा गुरुङ, मोस्ट ट्यालेन्ट अङ्किता लामा, मिस बब्लि सगुन राई, मिस फोटोजेनिक आस्था श्रेष्ठ, मिस ईन्टलएक्चुयल नुशेनि लिम्बु लगायत अन्यले अवार्ड पाए।
त्यस्तै मिस्टर क्याटेगोरीमा मिस्टर ट्यालेन्ट सुजल लिम्बु, मस्ट इन्टलएक्चुयल तान्छोहाङ लिम्बु, मिस्टर फोटोजेनिक रिन्छेन तामाङ, मोस्ट हार्डवर्किङ ताङ्साङ लिम्बु लगायतले अवार्ड हात पारे।
न्यायिक प्यानल र अतिथिको सहभागिता
प्रतियोगिताको निर्णायक मण्डलमा मिस्टर एण्ड मिस पूर्वाञ्चल नेपालका अध्यक्ष नवनित राज प्रधान सुब्बा, मिस्टर नेपाल वर्ल्डका रिजनल डाइरेक्टर रोनक अग्रवाल, मिस कोशी १९९८ कृति श्रेष्ठ, मिसेस प्रोभिन्स आइडल विजेता भावना जबेगु र मिस्टर नेपाल वर्ल्ड फर्स्ट रनरअप आदेश प्रधान थिए।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघा रहेका थिए।
२२ दिन लामो प्रशिक्षण र व्यक्तित्व विकास
कार्यक्रम संयोजक मेरिना तुम्साले किशोर–किशोरीको व्यक्तित्व विकासमा केन्द्रित रहेर २२ दिनसम्म नेतृत्व, प्रस्तुति, कला तथा आत्मविश्वास अभिवृद्धिका लागि विशेष तालिम संचालन गरिएको जानकारी दिइन्। कोरियोग्राफरको भूमिका मिस स्टेट विजेता श्वेता भुजेलले सम्हालेकी थिइन् भने ड्रेस डिजाइन भावना जबेगुले र मेकअप मिसाम स्टुडियोले गरेको थियो।
यस प्रतियोगिताबाट प्रतिभावान किशोर–किशोरीहरूले आफ्ना सुप्त क्षमताहरू उजागर गर्न पाएका छन्। आयोजकका अनुसार आगामी संस्करणलाई अझ व्यापक बनाउने तयारी भइरहेको छ।