धरानमा कोशी प्रदेशस्तरीय ‘एसईई आइडल’ को पाँचौँ संस्करण सुरु — १५० बढी विद्यार्थीको सहभागिता
कोशी प्रदेशभरिका सिर्जनात्मक क्षमताहरूलाई एकै मंचमा प्रस्तुत गर्ने लक्ष्यसहित ‘एसईई आइडल सिजन–५’ को अडिसन चरण धरानमा सुरु गरिएको छ।

धरानः कोशी प्रदेशभरिका सिर्जनात्मक क्षमताहरूलाई एकै मंचमा प्रस्तुत गर्ने लक्ष्यसहित ‘एसईई आइडल सिजन–५’ को अडिसन चरण धरानमा सुरु गरिएको छ।
एफटिएल टिभी र फक्ताङलुङ मिडिया हाउस प्रालिको समन्वयमा सञ्चालन भएको यस प्रतियोगिताको पहिलो अडिसन युएन नवोदय कलेज धरान–१६ को कार्यक्रम हलमा सम्पन्न भएको हो। आयोजकका अनुसार पहिलो चरणमा करिब १५० जना विद्यार्थीको सहभागिता रह्यो।
गायन, नृत्य र वक्तृत्वकला विधामा आधारित एसईई आइडलको मूल उद्देश्य कोशी प्रदेशभरिका प्रतिभाशाली विद्यार्थीहरूको पहिचान र प्रवर्धन गर्नु हो। प्रतियोगिताको परिकल्पनाकार तथा मिडिया हाउसका अध्यक्ष डम्बरकुमार तुम्बापोका अनुसार प्रदेशका १४ वटै जिल्ला — सुनसरी, मोरङ, झापा, इलाम, ताप्लेजुङ, पाँचथर, धनकुटा, उदयपुर, तेह्रथुम, भोजपुर, संखुवासभा, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु — का विद्यार्थीहरूको सहभागिता सुनिश्चित गरिएको छ।
अडिसनमा सहभागी हुन नसकेका विद्यार्थीहरूका लागि वैशाख १२ गतेसम्म भर्चुअल माध्यमबाट आवेदन खुला गरिएको जानकारी दिँदै अध्यक्ष तुम्बापोले दोस्रो चरणको छनौट वैशाख १३ गतेका लागि तय गरिएको बताए।
प्रतियोगिताका निर्णायकहरूमा गायनतर्फ गायक विकास लिम्बू तुम्बापो, विनायक राई, नृत्यतर्फ राष्ट्रिय कोरियोग्राफर प्रितम सम्वाहाम्फे र रेश्मा राई तथा वक्तृत्वकला तर्फ डा. सुभाष न्यौपाने र प्राध्यापक विद्या झा रहनेछन्।
विजेतालाई नगदसहित शैक्षिक छात्रवृत्ति र भ्रमणको अवसर
गायन तथा नृत्य विधाका विजेताले नगद ५० हजार रुपैयाँ, प्लस टु कक्षामा निःशुल्क अध्ययनको अवसर र निःशुल्क मुस्ताङ भ्रमण पाउनेछन्। वक्तृत्वकला तर्फका विजेताले भने नगद ६० हजारसहित प्लस टु अध्ययन र मुस्ताङ भ्रमणको विशेष अवसर प्राप्त गर्नेछन्।
त्यसैगरी फस्ट रनरअपले ३० हजार नगद र ५० प्रतिशत छात्रवृत्ति तथा सेकेन्ड रनरअपले २० हजार नगद र ३० प्रतिशत छात्रवृत्तिका साथै विविध गिफ्ट ह्याम्परहरू प्राप्त गर्नेछन्। साथै, विभिन्न सब–टाइटलमार्फत प्रतिभाहरूलाई छुट्टै सम्मानसमेत गरिने आयोजक संस्थाले जानकारी दिएको छ।
वि.सं. २०७५ सालदेखि सुरु गरिएको यो प्रतियोगिता पछिल्ला वर्षहरूमा प्रदेशस्तरीय सिर्जनात्मक मंचका रूपमा स्थापित हुँदै आएको छ।
