पछिल्ला केही वर्षको तथ्याङ्क हेर्दा मर्ने र मार्ने सङ्ख्या डरलाग्दो देखिन्छ । गत १९ वर्षमा झापामा मात्रै २२ वटा जङ्गली हात्ती मारिएका छन् । १४ वर्षमा हात्तीको आक्रमणबाट ६४ जनाले ज्यान गुमाएको जनाइएको छ । हात्तीको आक्रमणमा परी मृत्यु हुने विदेशी नागरिकको सङ्ख्या आठ रहेको छ ।
गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो । भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला परेका थिए । गत पुसमा कचनकवल–७ की कैलावती राजवंशीले हात्तीको आक्रमणमा परी ज्यान गुमाइन् । यस वर्ष मात्रै जिल्लामा हात्तीको आक्रमणमा परी चार जनाले ज्यान गुमाए ।
वि.सं. २०६२ देखि हालसम्म झापामा २२ वटा जङ्गली हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका पशु चिकित्सक सोनाम भालले जानकारी दिए । हात्तीको आक्रमणबाट अङ्गभङ्ग तथा घाइते भएकाको सङ्ख्या निकै ठूलो छ । अझ धनसम्पत्ति नष्ट भएकाहरूको त हिसाबकिताब नै छैन ।
जङ्गली हात्तीले अन्नबाली नष्ट गरेपछि स्थानीय बासिन्दा प्रतिकारमा उत्रिन्छन् । हात्तीलाई दुःख दिन्छन्, अझ कतिपय ठाउँमा त मार्ने नै गरिएको छ । हात्तीलाई दुःख दिने तथा मार्ने गरिएको क्षेत्रमै हात्तीले मान्छेको ज्यानै लिने गरी आक्रमण गरेको पाइन्छ । पछिल्ला केही वर्षको तथ्याङ्क र घटना केलाउँदा जुन क्षेत्रमा हात्तीलाई दुःख दिइएको तथा मारिएको छ, त्यही क्षेत्रमा हात्तीको आक्रमणबाट मान्छेको ज्यान गएका घटना धेरै भएको देखिएको छ ।
पशु चिकित्सक भालका अनुसार हात्तीको परम्परागत आवागमन क्षेत्रलाई सुरक्षित राख्न बस्ती स्थानान्तरण गर्नुपर्ने भए पनि यो व्यावहारिकरूपमा कठिन छ । उनले तत्कालीन उपायको रूपमा समुदायमा जनचेतना फैलाउनसके मात्र मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न सकिने बताए ।
डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा जङ्गली हात्तीबाट पीडित पाँच सय १० जनालाई राहत वितरण गरिएको छ । जसमध्ये दुई जना घाइतेलाई दुई लाख ६१ हजार एक सय २०, घर गोठ क्षति भएका एक सय ४८ घरपरिवारलाई २३ लाख, भण्डारण गरेको अन्न क्षति भएका एक सय २७ परिवारलाई नौ लाख ७९ हजार ४५ र अन्नबाली क्षति भएका तीन सय ७१ परिवारलाई ३४ लाख ५३ हजार चार सय राहत वितरण गरिएको छ ।
जिल्लामा हात्तीको आक्रमणबाट मानव क्षति बढ्दो छ । यसको दीर्घकालीन समाधान खोज्न नसकिए पनि जनचेतना अभिवृद्धि, उचित राहत व्यवस्थापन तथा प्रभावकारी वन व्यवस्थापनमा ध्यान दिइरहेको डिभिजन वन झापाले जनाएको छ । २०७९ असार १७ मा झापाको बुद्धशान्ति गाउँपालिका–५ पाँचपोखरीमा आठ वर्षको भाले हात्ती मृत भेटियो । अनुसन्धानका क्रममा करेन्ट लागेर हात्ती मारिएको पुष्टि भएको थियो । त्यसको दुई महिनापछि बुद्धशान्ति–४ पाँचपोखरीस्थित जङ्गलको बाटो भएर घर फर्किंदै गर्दा ३७ वर्षीया सम्झना श्रेष्ठको ज्यान गयो । स्कुटरमा घर फर्किरहेकी श्रेष्ठलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो । हात्ती मरेको स्थान र हात्तीको आक्रमणबाट श्रेष्ठको ज्यान गएको स्थान आसपासमै रहेको वन कार्यालयले जनाएको छ ।
२०८० सालमा झापामा तीनवटा जङ्गली हात्तीलाई करेन्ट लगाएर मारिएको छ । त्यही क्षेत्र वरिपरि हात्तीको आक्रमणबाट सात जनाको ज्यान गएको छ । वन डिभिजन कार्यालय झापाका अनुसार दुई वर्षको अवधिमा दुई हात्ती मारिएका थिए भने हात्तीको आक्रमणबाट चार जनाको ज्यान गएको थियो ।
हात्ती र मावनबीच किन द्वन्द्व भइरहन्छ ?
हात्ती पनि मान्छेजस्तै संवेदनशील प्राणी भएको संरक्षणकर्मीहरूको भनाइ छ । जङ्गली हात्तीका विषयमा जानकार जिल्ला वन कार्यालय सुनसरीका अधिकृत देवेन्द्र भण्डारीका अनुसार हात्ती समूहमा हिँड्ने जनावर हो । अनुशासन पालना नगर्ने वयस्क उरन्ठेउलो हात्ती समूहबाट निष्कासित हुन्छ । त्यसरी निस्केको हात्तीले नै गाउँघरमा दुःख दिने गरेको उनी बताउँछन् ।
हात्तीको स्मरणशक्ति निकै बलियो हुन्छ । आफू र आफ्नो समूहलाई दुःख दिने, जिस्क्याउने, गाली गर्ने, गुलेली हान्ने मान्छेलाई हात्तीले सजिलै पत्ता लगाउन सक्ने संरक्षणकर्मी बताउँछन् । हात्तीलाई धेरै उत्तेजित पार्ने र दुःख दिने काम ग¥यो भने मान्छेको ज्यान लिने गरेको उनीहरूको अनुभव छ । ‘केही घटनाले यस्तो देखिन्छ तर ठ्याक्कै अनुसन्धानबाटै भने यो प्रमाणित भएको छैन’–वन अधिकृत भण्डारीले भने ।
जङ्गली हात्तीले आफ्नो बाटोमा आएको अप्ठ्यारो हटाउन खोज्दा मान्छेको ज्यान जाने गरेको उनको भनाइ छ । हात्ती बौद्धिक प्राणी हो, एकदमै संवेदनशील हुन्छ । आफ्नो समूहको हात्ती मर्दा माटोले पुरेर अन्त्येष्टि गर्ने गर्दछ ।
हात्ती बढी आवत–जावत हुने स्थान झापा
हात्तीको बढी आवत–जावत हुने जिल्ला झापा मानिन्छ । जसले गर्दा हात्ती र मान्छेबीच द्वन्द्वका घटना झापामा बढी हुने गरेको छ । त्यहाँ रैथाने हात्तीहरू बसोबास गर्ने गरेका छन् । जङ्गल क्षेत्र मासिँदै जाँदा आफ्नो आहार खोजीको लागि मानवबस्तीमा पस्ने गर्दा मानिससँग द्वन्द्व हुने गरेको उनको भनाइ छ ।
हात्ती आवत–जावत हुने क्षेत्रमा मान्छेको पनि आवत–जावत बढी हुँदा द्वन्द्व बढेको संरक्षणकर्मीको भनाइ छ । हात्ती आफैमा उत्तेजित हुने प्राणी नभएकाले मान्छेले गर्ने व्यवहारमा भर पर्ने उनीहरूको तर्क छ । वन अधिकृत भण्डारीका अनुसार १० वर्षअघि हात्तीसम्बन्धी चासो राख्ने बाबुराम यादवले गरेको अनुसन्धानमा झापादेखि उदयपुरसम्म हात्तीको बासस्थान भएको उल्लेख गरेको छ । तर जङ्गल क्षेत्र क्रमशः मासिँदै जाँदा उनीहरू आहारको खोजीमा मावनबस्ती पस्ने गरेको अनुसन्धान रिपोर्टमा उल्लेख छ ।
सुनसरीको वराहक्षेत्र पनि हात्तीले बासस्थान बनाउँदै
वन अधिकृत भण्डारीका अनुसार पछिल्लो समय सुनसरीको वराहक्षेत्रको नडाहा क्षेत्रमा हात्तीले बासस्थान बनाउने गरेका छन् । केही महिनाअघि २१ वटा हात्तीको जत्थासमेत देखापरेका थिए । त्यसक्षेत्रमा मानव हात्तीको द्वन्द्वसमेत बढेर गएको स्थानीयले बताएका छन् ।
मानवबस्तीमा हात्ती आउन थालेपछि जिल्ला वन कार्यालय सुनसरीले कालिन्द्र सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा जङ्गलबाट हात्ती मानवबस्तीमा पस्न नपाउन् भनेर ‘सोलार फेन्सिङ’ गरेको वन अधिकृत भण्डारीले बताए । १ किमीभन्दा बढी क्षेत्रमा घेराबारा गर्ने काम गरिएको वन कार्यालयले जनाएको छ ।