धरान । श्री सरस्वती बाल आश्रमका बालबालिकाहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले खाना खुवाएको छ । शुक्रबार धरान ३ स्थित आश्रममा २५ जना बालबालिकाहरुलाई खाना खुवाएको हो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४५ औँ स्थापना दिवसको अवसरमा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई सहितका नेताहरुको उपस्थितिमा संगठन धरान उपमहानगर कमिटीले बालबालिकाहरुलाई खानपान तथा फलफूल वितरण गरिएको हो । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, संगठन कोशी प्रदेश सदस्य दुर्गा खतिवडा, जिफन्ट धरान अध्यक्ष शमसेर बर्देवा, संगठन धरान अध्यक्ष किरण थापा ,सदस्यहरु कुविर श्रेष्ठ, लेखराज थापा, चेतराज दाहाल र सल्लाहकार उमेश कुँवर सहभागी रहेका थिए ।
२०४५ सालमा स्थापना भएको श्री सरस्वती बाल आश्रममा रहेका असहाय बालबालिकाहरुको खानपान र शिक्षादिक्षामा विभिन्न संघसंस्थाहरुको दान र सहयोगबाट श्रोत जुटाइरहेको बताउँनुहुँदै खानाको प्रवन्ध गरिदिएकामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन परिवारलाई आश्रमका महासचिव हरी खड्गीले धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस्तै असार ९ गते आइतबार धरानको भानुचोकमा रक्तदान कार्यक्रम समेत आयोजना गरेकोछ भने असार ८ गते संगठन स्थापना स्थल पानीपिया संगठनको स्तम्भ भएको स्थल सरसफाई कार्यक्रम आयोजना गरिएकोछ ।
संगठनले स्थापनाको ४५ वर्ष पुरा गर्दै असार ९ गतेदेखि ४६ वर्ष प्रवेश गर्दैछ सो अवसरमा संगठनले रक्तदान, मजदुरहरुको स्वास्थ्य परिक्षण कार्यक्रम, बसपार्क सरसफाई, लगायतका रचनात्मक कार्यक्रम गरेर देशव्यापी रुपमा स्थापना दिवस मनाई रहेकोछ ।
सोही अवसरमा धरानमा रहेको बालआश्रममा रहेका बालबालिकाहरुलाई खाना खुवाएको हो । २०३६ असार ९ गते सुनसरी जिल्लाको पानीपिया जंगलमा स्थापना भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले अहिले देशव्यापी आकार ग्रहण गरिसकेकोछ भने देशव्यापी रुपमा संगठन सञ्जाल विस्तार गरेर आफुलाई शक्तिशाली संगठनका रुपमा स्थापित गरेकोछ ।
संगठन स्थापनाको ४६ वर्षको इतिहासमा ११ वटा राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेकाछन् भने संगठन स्थापना भएको कोशी प्रदेशबाट मात्रै कमल बुढाथोकी, मोतिराज सुनुवार, राजिव घिमिरे र भीमज्वाला राई गरेर चार जना केन्द्रीय अध्यक्षको भूमिका निर्वाह गरिसकेको छ !महासचिवको भूमिकामा भीमज्वाला राईले जिम्मेवारी सम्हालिसकेकाछन् ।