Roamwings.com

https://www.facebook.com/roamwingstravel/

आर्थिक

बक्यौता नपाएपछि विरोधमा उत्रिए देशभरका दुग्ध किसान

जेष्ठ २६, २०८१

काठमाडौँ — किसानलाई भुक्तानी दिलाउन सरकार र डेरी उद्योगीबीच पटक–पकटको सम्झौता कार्यान्वयन नभएपछि देशभरबाट दुग्ध किसान विरोधमा उत्रिएका छन् । दूध बेचेको सात महिनायताकै बक्यौता बाँकी रहेको जनाउँदै केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडमा आबद्ध किसान कालोपट्टी बाँधेर विरोधमा उत्रिएका हुन् । संघअन्तर्गत १ हजार ८ सय ७२ दुग्ध उत्पादक सहकारी संस्था आबद्ध छन् । यी संस्थाले करिब ६ लाख परिवारबाट औपचारिक रुपमा दैनिक करिब १२ लाख लिटर दूध संकलन र बिक्री गर्दै आएका छन् । यही दूध बिक्री गरेबापत् निजी डेरी उद्योग र दुग्ध विकास संस्थान (डीडीसी) ले भने किसानलाई भुक्तानी गरेका छैनन् । किसानले पाउनुपर्ने बक्यौता ४ अर्बभन्दा बढी पुगेपछि संघमा आबद्ध किसान बिरोधमा उत्रिएका हुन् । विरोधस्वरूप शुक्रबार कालोपट्टी बाँधेर दूध बिक्री गरिएको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । ‘समयमै बक्यौता नपाएपछि किसानले भोग्नुपरेको कठिनाइबारे कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहलाई आइतबार (जेठ २२) मा भेटेरै जानकारी गराएका छौं । बिहीबारसम्म सम्बोधन नभए विरोध गर्ने बताएका थियौं,’ अध्यक्ष कुँवरले भने, ‘तर किसानको माग सम्बोधन भएन । यसअघि भएका सम्झौता पनि कार्यान्वयन भएनन् । शुक्रबारदेखि बाध्य भएर विरोधमा उत्रिनुपरेको छ ।’

कुँवरका अनुसार शुक्रबारदेखि असार ४ सम्म कालोपट्टी बाँधेर दूध बेच्ने कार्यक्रम छ । यस अवधिमा माग सम्बोधन नभए असार ५ मा डीडीसीको केन्द्रीय कार्यालय, लैनचौरमा तालाबन्दी गरिने उनले बताए । ‘बक्यौता रकम भुक्तानी नभएकाले कालोपट्टी बाँधेर सांकेतिक आन्दोलन सुरु गरेका छौं, असार ४ सम्म माग सम्बोधन नभए असार ५ मा डीडीसीमा ताला लगाउँछौं,’ कुँवरले भने, ‘त्यस क्रममा अवरोध गरिए लौनचौरबाटै दोस्रो चरणको आन्दोलन घोषणा हुन्छ ।’

सरकारले हचुवाको भरमा किसानलाई अलमल्याउने काम मात्रै गरिरहेको उनीहरू बताउँछन् । संघका अनुसार उद्योगीले चैत २१ सम्म बक्यौता भुक्तानी गरिसक्नुपर्ने सम्झौता थियो । सम्झौता कार्यान्वयन नभएपछि दुई महिना सरकारसँग ‘लबिइङ’ गरियो । तर सरकारबाट लाचारी कुराबाहेक केही आएन । गाईबस्तुलाई दाना खुवाउनसमेत धौधौ भएपछि बाध्य भएर विरोधमा उत्रिनुपरेको संघको दाबी छ । ‘जेठ २० सम्म बक्यौता रकम साढे ४ अर्ब थियो । अहिले दिनैपिच्छे बढ्दो छ,’ उनले भने, ‘पैसा नपाएर किसान आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् । तर सरकारले लाचारीपन देखायो ।’

सरकार, डेरी उद्योगी र किसानबीच गएको मंसिर २६ मा बक्यौता भुक्तान गर्ने सहमति भएको थियो, तर कार्यान्वयन नभएपछि फागुन १९ अर्को सम्झौता भयो । ०८० पुससम्मको बक्यौता चैत २१ सम्म दिइसक्नुपर्ने पछिल्लो सहमति पनि कार्यान्वयन भएन । सरकारबाट जहिल्यै उधारो सम्झौता हुने गरेको राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष पञ्चकाजी श्रेष्ठको भनाइ छ । ‘विगतका सम्झौतामा तत्काल भुक्तानी गर्ने भनिए पनि किसानलाई झूटो आश्वासन मात्रै दिइयो । दूधको बक्यौतासँगै किसानले गत वर्षकै कृषि र पशु बिमाको करिब २ अर्ब रकम पाएका छैनन्,’ उनले भने, ‘अहिले देखिएको समस्याबारे किसान सञ्जालमार्फत मन्त्रीज्यूलाई ज्ञापनपत्र बुझाउँदै छौँ ।’

स्रोत;

राजु चौधरी

e-कान्तिपुर

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
आर्थिक

पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरि निगमले मूल्य घटाएको