गायक तथा सङ्गीतकार मिलन राईको शब्द/सङ्गीत रहेको ‘बिनायो बज्यो ओठैले’ साकेला गीतको म्युजिक भिडियो आइतबार साँझ धरानमा अनलाइन, युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
भिडियोमा सोमिया राई र गायक चन्द्र बान्तवाको मुख्य अभिनय छ । निर्देशक वसन्त बान्तवा रहेको म्युजिक भिडियोमा प्रवीण भुजेलले कोरियोग्राफी गरेका छन् ।
स्वर चन्द्र बान्तवा, वसन्त बान्तवा, हेमन चाम्लिङ, सुनिता नाम्नु राई, जयकला राई, उमा चाम्लिङ र दिलु राईको छ ।
म्युजिक भिडियो किरात राई कलाकार सङ्घ सुनसरीले निर्माण गरेको हो । किरात राई यायोख्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले म्युजिक भिडियोको विमोचन गरेका हुन ।
भिडियोको छायाङ्कन पूर्ण सुनुवारले गरेका हुन । अशोक सुनुवारले सम्पादन र रङ्ग संयोजन गरेका हुन । धनकुटाको सिम्सुवा, भेडेटार र धरानमा छायाङ्कन गरिएको हो ।
साकेला गीत माया प्रेमलाई जोडेर रचना गरिएको गायक तथा सङ्गीतकार मिलन राईले बताए । कलाकार सङ्घले यसअघि चोमोलुङ्मा मुनी र उकाली चढ्नु अक्करको बाटो बोलको वाडाङमी गीतको म्युजिक भिडियो निर्माण गरेको छ ।