नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक जमरा राखिदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दूहरुको महान् पर्व बडादशैँको पहिलो दिन ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने परम्परा छ। जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ ।
दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्ति माथि दैवी शक्तिको विजयका रुपमा मनाउने प्रचलन रहेको छ ।
नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैँघरमा जमरा राखिन्छ। माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ । जमरा थोरै बालुवा मिसिएको माटोमा छरिन्छ । अनि नवरात्रिभरि नै हरेक दिन पूजा–अर्चना गरिन्छ ।
जमरा वास्तवमा जौको अङ्कुरण भए तापनि दसैँको जमरामा जौ लगायत धान, मकै र गहुँका पहेँला, हरिया अङ्कुरित बालाहरू समावेश हुन्छ । माटो, पानी, हावा, फूल, आँकुरासँगै जुटेको यो संस्कारले वनस्पतिसँग हामी अत्यन्तै नजिक छौँ भन्ने स्पष्ट पार्छ ।
हिन्दुहरूको महान् पर्व दसैँमा जमरा संस्कृति एउटा मौलिक धरोहरको रूपमा रहिआएको छ भने यस दशमीको दिन लाइने जमरा उमार्न आजको दिन अर्थात् घटस्थापना महत्त्वपूर्ण दिन हो ।
घटस्थापनाका दिन दुर्गापूजासँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन रहेको छ। विशेष गरी नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, दक्षिणकाली, भद्रकाली, दन्तकाली, सिद्वकाली, गुह्येश्वरी, विन्ध्यवासिनी, छिन्ताङदेवी पाथीभरा, मनकामना, वागीश्वरीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्छ ।