संजिता धमला
धरान: धरान-स्थित महेन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) द्वारा आयोजित पहिलो साधारण सभामा करिब १ लाख रुपैयाँको अडिट रिपोर्ट नमिल्दा विद्यार्थी प्रतिनिधिहरूले आपत्ति जनाएका छन्। स्ववियुले २०७९/८० आर्थिक वर्षको आय-व्ययको विवरण सार्वजनिक गर्दा अडिट रिपोर्टमा करिब १ लाख रुपैयाँको आर्थिक असन्तुलन देखिएको हो।
विद्यार्थी प्रतिनिधिहरूले तत्काल आर्थिक असन्तुलनको कारण माग गर्दै छलफल अगाडि बढाएपछि, यो विषयमा थप स्पष्टता दिन पुन: छलफलका लागि आगामी बिहीबार बैठक बस्ने तय गरिएको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय त्रिभुवन विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस अन्तरगत रहेको महेन्द्र बहुमुखी क्याम्पस धरानको स्वतन्त्र विद्यार्थी युनियनलाई लेखा परिक्षण प्रतिवेदन तयार गर्न निर्देशन दिए बमोजिम स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानले पहिलो लेखा परिक्षण गरेको हो ।अब, अडिट रिपोर्टमा देखिएको यो गम्भीर त्रुटिले विद्यार्थी नेतृत्वमाथि गहिरो प्रश्न खडा गरेको छ।
सभामा स्ववियु सचिव सैनिक श्रेष्ठले अडिटमा देखिएको आर्थिक असन्तुलनलाई मिलाउन नसकेको कुरा व्यक्त गरेका थिए।आर्थिक असन्तुलन र अडिट रिपोर्टको मिलान हुन नसकेको देखेपछि, विद्यार्थी प्रतिनिधिहरूले यसबारे गम्भीर छलफलको माग राखेका छन्।
सभापति अलौकिक राईको कडा चुनौती
स्ववियु सभापति अलौकिक राईले भने आफू र आफ्नो टोलीले कुनै प्रकारको अनियमितता नगरेको दाबी गर्दै ती विद्यार्थी नेताहरुलाई कडा चुनौती दिएका छन्, जसले उनलाई आर्थिक भ्रष्टाचारको आरोप लगाएका थिए। उनले भने, “मेरो २ वर्षको सम्पूर्ण आर्थिक विवरण छानबिन गर्न तयार छु। म बारम्बार छानबिनको माग गरिरहेको छु, तर ममाथि आरोप लगाउनेहरू कानूनी प्रक्रिया अघि बढाउन हिचकिचाइरहेका छन्। तपाईंहरू ममाथि आरोप लगाइरहनुहुन्छ, तर छानबिन गर्न चाहनुहुन्न?”
राईले यस मुद्दामा आफूमात्र नभई सम्पूर्ण स्ववियु कार्यसमिति र २१ जनाको आर्थिक विवरणको छानबिन गर्न आग्रह गर्दै भने, “यदि कोही दोषी ठहरिए, उसलाई सार्वजनिक रूपमै कारबाही गरौं। सत्य बाहिर आउनुपर्छ।” उनले निस्वार्थ भावले विद्यार्थीहरूको हितका लागि काम गरिरहेको र अनावश्यक विरोधले आफूलाई कुनै असर नगर्ने स्पष्ट पारे।
छानबिन र अडिटको प्रक्रिया
स्ववियु अडिटको जिम्मेवारी सम्भु प्रसाद गौुरागाई र लेखापरीक्षक कम्पनी नि. गुरॅागाई एन्ड कम्पनिलाई दिइएको छ। उनीहरूले प्रस्तुत गरेको रिपोर्टमा देखिएको आर्थिक असन्तुलनबारे अब विस्तृत रुपमा बिहीबारको छलफलमा थप जानकारी प्रस्तुत गरिनेछ। यो अडिट र छानबिनले स्ववियुको आर्थिक पारदर्शितामा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।
आगामी साधारण सभामा विद्यार्थीहरूको प्रतिनिधित्व, सरोकारवाला निकायहरू, शिक्षक र प्राध्यापकहरू सबै उपस्थित हुनेछन्।