धरान: धरान-५ ले यस वर्षको धरान उत्सवमा महिला र पुरुष दुबै तर्फको रस्साकस्सी प्रतियोगितामा शानदार जित हात पारेको छ।
यो प्रतियोगिता धरान उत्सवको प्रमुख आकर्षण मानिन्थ्यो, जहाँ विभिन्न समूहहरूबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक थियो।महिलातर्फ धरान-५ को टोलीले प्रथम स्थान हात पार्दा महिलास्टल ग्रुप उपविजेता बनेको छ।धरान-५ को टोलीले अद्वितीय तालमेल र सामूहिक बलको प्रदर्शन गर्दै विजयी बनेको हो। पुरुषतर्फ पनि धरान-५ ले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान प्राप्त गर्न सफल भएको छ। धरान जिमर्स ग्रुपले दोस्रो स्थान हासिल गर्दै उपविजेताको उपाधि जित्यो।
विजेताहरुलाई विशेष पुरस्कारस्वरूप ८ वटा भाले उपहार दिइएको छ भने उपविजेताहरुलाई ६ वटा भाले प्रदान गरिएको छ, जुन यो प्रतियोगिताको परम्परागत पुरस्कार हो।
प्रतियोगिताको अर्को आकर्षण छेलो हान्ने प्रतियोगिता पनि रह्यो। महिलातर्फ खुसी लिम्बुले छेलो हान्नमा आफ्नो सटीकता र गति प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरिन् भने रिता राई उपविजेता बनिन्। पुरुषतर्फ मनोज लिम्बु र तिलक लिम्बु क्रमशः प्रथम र उपविजेता बनेका छन्।
धरान उत्सव हरेक वर्ष विभिन्न सांस्कृतिक, खेलकुद र मनोरञ्जनात्मक कार्यक्रमहरूसँगै आयोजित हुन्छ, जसले स्थानीय समुदायबीच एकता र सद्भावको भावना बलियो बनाउँछ। प्रतियोगिताका विजेताहरुलाई स्थानीय प्रतिष्ठानले सम्मानित गर्यो भने सहभागीहरूको प्रयासलाई पनि प्रशंसा गरिएको छ। आयोजक समितिले आगामी वर्षमा पनि यस्ता कार्यक्रमहरूलाई अझ भव्य र उत्साहजनक बनाउने योजना रहेको जनायो।