सॅजिता धमला
धरानः धरान-१२ स्थित चतरा लाईनमा रहेको शुभकामना होटलमा यौन व्यवसाय सञ्चालन भइरहेको अवस्थामा प्रहरीले आज राति (शनिबार ) ७ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकामा भारतको अररिया जिल्लाका ५ जना नागरिक – मुकेश कुमार शाह, सुरज कुमार महत, कुन्दन कुमार, रोशन कुमार, र संजिव कुमार – रहेका छन्। साथै, होटलको कुक बिमल सुनुवार धरान-१७ का रहेका छन्। होटल संचालक लक्ष्मण श्रेष्ठ पनि पक्राउ परेको धरानका डिएसपि प्रकाश जबेगुले जानकारी दिए।
प्रहरीको अनुसन्धान अनुसार, पक्राउ परेका व्यक्तिहरूसँग भोजपुरका २ महिला र धरानकी १ महिला यौनधन्दामा संलग्न भएको पाइएको छ। यसअघि पनि यस्तै गतिविधिमा संलग्न व्यक्तिहरू पक्राउ परेका थिए, तर प्रशासनले कडा कारबाही नगरी छोडिदिएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। भारतीय नागरिकहरूको दैनिक आगमन र यौन व्यवसायमा संलग्नता धरानको सुरक्षा र होटल व्यवसायमा समस्याका कारण बनेको छ।
यस अघि पनि एमालेका एक नेता तथा जनप्रतिनिधि यहि होटलबाट पक्राउ परेका हुन्।सई रुद्र खड्काको कमान्डमा खटेको टोलिले कसैलाई भाग्न नदिई पक्राउ गरेको हो। होटल संचालक श्रेष्ठ बाथरुममा लुकेका थिए उनलाई बाथरुमबाटै पक्राउ गरिएको प्रहरीको भनाई छ।
प्रहरीले अनुसन्धानलाई अगाडि बढाउँदै दोषीलाई कानुनी कारबाही गर्न तयारी गरेको जनाएको छ।