धरानः इलाका प्रहरी कार्यलय धरान र सुनसरीको प्रहरी टोलीले ठूलो मात्रामा लागू औषध गाँजा सहित एक अटो र चालकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार धरान अप्रपो रेल्वे क्षेत्रमा रातको समयमा गस्तीमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा शंका लागि रोक्न खोजिएको एक अटो टेम्पोले गति बढाएर भाग्ने प्रयास गरेको थियो।
प्रहरी सहायक निरिक्षक कुमार कट्वालको कमाण्डमा रहेको मोटरलाईकल गस्ती टोलीले अटोलाई पिछा गर्दै धरान उपमहानगरपालिका–१७ स्थित एडीबी रोड नजिक जंगल छेउमा पुगेर नियन्त्रणमा लिएको हो। प्रदेश १-०२-००२ ह.१६५५ नम्बरको रातो अटो टेम्पोमा सवार चालक धन बहादुर भण्डारीलाई पक्राउ गरिएको छ। उनी धरान उपमहानगरपालिका–१७ का ३१ वर्षीय स्थानीय बासिन्दा हुन्।
पक्राउपछि अटोको चेकजाँच गर्दा ७ वटा बोरामा लागू औषध गाँजा फेला परेको थियो। गाँजाको परिमाण १२३.३९ केजी रहेको छ। पक्राउ परेका चालक र गाँजा दुवैलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी निरीक्षक दिवश कुँवरको कमाण्डमा थप अनुसन्धान गरिरहेको धरान प्रहरीले जानकारी दिएको छ।
प्रहरीले यस घटनालाई लागू औषध नियन्त्रण अभियानमा ठूलो सफलता मानेको छ र अनुसन्धानको क्रममा गाँजा संलग्न अन्य व्यक्तिहरुका बारेमा थप जानकारी खोजी भइरहेको जनाएको छ।