काठमाडौं– गृहमन्त्री रमेश लेखकको नक्कली पिएको रूपमा ठगी गर्दै विभिन्न निकायमा फोन गरिरहेका बैतडीका करनसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ। भूमेश्वर गाउँपालिका–७ का २६ वर्षीय विष्टले गृहमन्त्रीको प्रमुख स्वकीय सचिव भएको दाबी गर्दै विभिन्न क्षेत्रबाट व्यक्तिगत लाभ लिन खोजेका थिए।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, बरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार, धुम्बाराहीबाट पक्राउ गरिएका विष्टले गृहमन्त्रीको नाम दुरुपयोग गरी प्रहरी, प्रशासन लगायत विभिन्न निकायमा अनावश्यक दबाब दिएका थिए। भट्टराईले विष्टलाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी दिए।
गृहमन्त्री लेखकको सचिवालयले पनि नक्कली पिएको विषयमा केही समयदेखि जानकारी संकलन गरिरहेको थियो। विष्टले गृहमन्त्रीको नाममा फोन गर्दै दबाब दिन थालेपछि सचिवालयको आग्रहमा पक्राउ गरिएको हो। सचिवालयले यसअघि नै विभिन्न क्षेत्रमा पिए वा सल्लाहकारको नाममा फोन गर्ने व्यक्तिहरुप्रति सतर्क रहन चेतावनी दिएको थियो।
प्रहरीले विष्टविरुद्ध थप अनुसन्धान गरिरहेको छ, र नक्कली पिएको भूमिका खेलेर विभिन्न क्षेत्रमा गलत फाइदा लिन खोज्ने प्रयास विफल भएको छ।