धरानः इटहरी, कोशी प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले टायमकार्ड प्रणाली लागू गरेको छ।
यसै अन्तर्गत, मोरङको सुन्दर हरैचा–७, गछियामा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक सवारी चालकहरूले दुर्घटना रोकथाम र सुरक्षामा सहमति जनाउँदै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन्।
कार्यक्रमको प्रमुख अतिथी, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले सवारी दुर्घटनालाई एक गम्भीर चुनौतीका रूपमा लिँदै, यसलाई न्यूनिकरण गर्न सबै सरोकारवाला निकायहरूको सहकार्य अपरिहार्य भएको बताउनुभयो। उहाँले टायमकार्ड प्रणालीले ट्राफिक नियमको पालना सुनिश्चित गर्दै दुर्घटना दरमा कमी ल्याउने विश्वास व्यक्त गरे।
सार्वजनिक सवारी दुर्घटनामा यात्रुहरूको जीवन जोखिममा पर्ने गरेकोले, यो कदम महत्त्वपूर्ण मानिएको छ। यस अवसरमा चालकहरूलाई सवारी चलाउँदा समय व्यवस्थापनको महत्व र यात्रु सुरक्षाको दायित्वबारे जानकारी दिइएको थियो। चालकहरूले नियम अनुसार समयमै गन्तव्यमा पुग्नका लागि प्रयास गर्ने र यात्रुहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने प्रतिज्ञा गरेका छन्।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, यातायात व्यवसायी महासंघका प्रतिनिधि सरोज श्रेष्ठ लगायत अन्य यातायात व्यवसायी, मजदुर संघका प्रतिनिधिहरू र ट्राफिक प्रहरीहरूको उपस्थिति रहेको थियो।