संजिता धमला
धरानः चिकित्सा शिक्षा आयोगको १५औं बैठकले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (CTEVT) अन्तर्गत ४३ वटा कलेजलाई सम्बन्धन र सिट निर्धारण गर्ने निर्णय गरेको छ।
यस क्रममा धरानको विजयपुर अस्पतालमा सञ्चालित “विजयपुर टेक्निकल इन्स्टिच्युट” लाई पनि सम्बन्धन दिइएको छ।यस निर्णयसँगै अस्पतालमा फार्मेसी, सामान्य चिकित्सा, र मेडिकल ल्याब टेक्नोलोजी जस्ता प्राविधिक शिक्षा कार्यक्रमहरू सञ्चालनमा आउने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ४३ वटा कलेजलाई सम्बन्धन र सिट निर्धारणको निर्णय गरेको हो। यस सूचीमा विजयपुर टेक्निकल इन्स्टिच्युट पनि समावेश गरिएको छ। अब यस शिक्षालयले धरान र आसपासका क्षेत्रका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा र तालिम प्रदान गर्नेछ।
यो सम्बन्धनले धरानलाई प्राविधिक शिक्षाको क्षेत्रमा नयाँ युगतर्फ अघि बढाएको भन्दै धरानप्रेमिले सामाजिक संजालमा बधाई दिईरहेका छन्।
यसबाट ठूलो संख्यामा दक्ष जनशक्ति उत्पादन हुने, रोजगारका नयाँ अवसर सिर्जना हुने, र स्थानीय स्वास्थ्य सेवामा सुधार आउने अपेक्षा गरिएको छ।
विशेषगरी, कोरोना महामारीका कारण स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभावलाई सम्बोधन गर्न यो निर्णयले ठुलो सहयोग पुर्याउने विश्वास गरिएको छ। यसैगरी, शिक्षालयले एकसाथ शैक्षिक र व्यावसायिक तालिम प्रदान गरेर विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ।