०६ मङ्सिर ,धरान:विराटनगर महानगरपालिकाले बिहीबार आयोजित एक विशेष कार्यक्रममार्फत ५० प्रतिशत अनुदानमा कृषकहरुलाई उन्नत जातको मकैको बिउ वितरण गरेको छ।
विराटनगर महानगर परिसरमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल र आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले कृषकहरुलाई बिउ वितरण गरे।
महानगर क्षेत्रका १८५ कृषक परिवारलाई १० लाख रुपैयाँ मूल्य बराबरको ७ सय ६९ केजी (पाइनर जात ३३५५) को मकैको बिउ वितरण गरिएको हो। यो बिउले करिब २६ हेक्टर जमिनमा मकै खेती गर्न सकिने कृषि शाखाका प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिए।उनका अनुसार कृषकहरुबीच कृषि सहकारी, कृषि फर्म, र कृषक समूहको माध्यमबाट बिउ वितरण गरिनेछ।
विराटनगर महानगर क्षेत्रभित्र १ हजार ३ सय ७५ हेक्टर खेतीयोग्य जमिन रहेको छ, जसमध्ये करिब ७ सय हेक्टरमा मकै खेती हुने गरेको छ। यस पहलले कृषकहरूको उत्पादन क्षमता बढाउने अपेक्षा गरिएको छ।
कृषकको उत्पादनमा सहयोग
यस अनुदानले कृषकहरूलाई गुणस्तरीय बिउ प्रयोगमा प्रोत्साहित गर्न मद्दत पुग्नेछ भने मकै उत्पादनमा पनि वृद्धि हुने विश्वास गरिएको छ। महानगरपालिकाले कृषि क्षेत्रमा लगानी बढाउँदै कृषकहरूको जीवनस्तर उकास्न लगातार काम गरिरहेको छ।
कार्यक्रममा सहभागी कृषकहरूले महानगरको यो प्रयासको प्रशंसा गर्दै यसले मकै उत्पादनमा महत्वपूर्ण फड्को मार्ने बताए।