संजिता धमला
धरानः धरानका जनताका लागि सडकको मुद्दा नयाँ होइन। यहाँका नागरिक वर्षौंदेखि धुलो, हिलो, खाल्डाखुल्डी र दुर्घटनाको जोखिमसँग संघर्ष गर्दै आएका छन्। पटक-पटक अनुगमन भए पनि समस्या समाधानको अपेक्षा सधैं अधुरै रहने गरेको छ।
धरानको सडकले यहाँका जनतालाई एकछिन खुशी र सधैं पीडा दिएको छ। अहिले पनि मन्त्री राईले सडक अनुगमन गरेको खबरले स्थानीयको मनमा केही आशा जागेको छ, तर त्यही अनिश्चितताले गाँजेको पनि छ—के यो पटक हाम्रो पीडा अन्त्य हुनेछ?
धरानका सडकहरूको अवस्था यति बिग्रिएको छ कि स्थानीय नागरिकहरू दैनिक रूपमा सास्ती खेप्न बाध्य छन्। सडक निर्माण र मर्मतका लागि विनियोजित करोडौं रुपैयाँ खर्च गरिए पनि वास्तविकता भने निराशाजनक छ। सडकमा ठाउँठाउँमा खाल्डाखुल्डी, धुलो र हिलोले भरिएका छन्। स्थानीयको गुनासो छ कि सडकका कारण उनीहरूको स्वास्थ्य, यातायात, व्यापार, र दैनिकीमा ठुलो असर परेको छ। हिउँदमा धुलोको कारण आँखामा समस्या, छाला र श्वासप्रश्वासमा गम्भीर समस्या देखापर्ने गरेको छ भने वर्षातमा सडक हिलाम्मे हुने र दुर्घटनाको जोखिम झनै बढ्ने गरेको छ।
धरानको वडानं ४ का दुर्गा खड्का आक्रोशित हुँदै भने, “हामीले हरेक पटक सरकार र स्थानीय निकायबाट केही सुधारको आशा गरेका छौं। तर हरेक पटक धुलो र खाल्डाले हामीलाई धोका दिएको छ। मन्त्री र अधिकारीहरू आउँछन्, फोटो खिच्छन् र जान्छन्, तर हाम्रो पीडा जस्ताको तस्तै रहन्छ।”
शिक्षा, स्वास्थ्य, व्यापार, पर्यटन, कुनै पनि क्षेत्र धरानमा सडकको समस्याबाट अछुतो छैन। स्कुले विद्यार्थीदेखि वृद्धवृद्धा र कामकाजी नागरिकसम्म सबैले बिहानैदेखि दिनभरि धुलोको सामना गर्नुपर्छ। गाडीहरूको आवागमन कठिन हुँदा जनजीवन अस्तव्यस्त बन्छ। एम्बुलेन्स र बिरामीलाई अस्पताल पुर्याउन पनि कठिनाइ हुने गरेको छ। यो अवस्था कहिलेसम्म यस्तै रहन्छ? के धरानका नागरिकले कहिल्यै धुलो र खाल्डोमुक्त सडकमा हिंड्न पाउनेछन्?
हिजो ( मंगलबार ) कोशी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्रि भुपेन्द्र राईले धरान-४ को सडक अनुगमनको क्रममा मन्त्रीले स्थानीयसँग भेटघाट गरे, उनीहरूको समस्या सुनें, तर जनताले यसलाई केवल एउटा औपचारिकता मात्र ठाने। स्थानीयहरू भन्छन्, “अनुगमन मात्र गरेर केही हुँदैन, वास्तविक काम र परिणाम आवश्यक छ। हामीलाई फोटो र भाषण होइन, व्यवस्थित र सुरक्षित सडक चाहिएको हो।”
धरान-४ का स्थानीय दीपक राईले भने, “यो सडक हामीलाई सधैंको दुःख बनेको छ। वर्षौंदेखि हामीले धुलो, हिलो र खाल्डाका बीचमा बाँचिरहेका छौं। मन्त्रीज्यूले हाम्रो पीडा बुझिदिनुहोस्। हामीलाई सुरक्षित र सुविधायुक्त सडक बनाइदिनुहोस्। हाम्रो करले बनाएको बजेट हामीमाथि खर्च गरियोस्।”
धरानको मुख्य सडकमात्र होइन, गाउंहरू जोड्ने ग्रामीण सडकहरू पनि उस्तै खराब अवस्थामा छन्। अस्पताल जाने, विद्यालय पुग्ने र खेतीपातीका लागि बजार पुग्ने बाटोहरूमा यातायात कठिन र जोखिमपूर्ण छ। स्थानीय भन्छन्, “हामीलाई यो सास्तीबाट मुक्ति चाहिएको छ। यो हाम्रो बाँच्नको हक हो, सरकारको अनुदान होइन।”
सरकारले विगतमा यस्ता धेरै योजना घोषणा गरेको भए पनि समयमै पूरा नभएको गुनासो छ। निर्माण ढिलाइ, बजेट विनियोजनमा अनियमितता र गुणस्तरहीन कामका कारण धरानवासीको विश्वास सरकारप्रति क्रमशः घट्दै गएको छ।
“हामीलाई आशा चाहिएको छ, तर त्यो आशा सधैं टुट्छ,” एकजना व्यापारीले भने। “यहाँका सडकहरू बनाउने काम गर्दा जनताको पीडा र समस्यालाई प्राथमिकता दिनुपर्छ।”
मन्त्री राईको पछिल्लो अनुगमनले केही अस्थायी खुशी दिएको छ, तर धरानका जनताले सधैंजस्तै निराश हुने डर छ। अब प्रश्न उठ्छ, के यो अनुगमनले धरानको सडक समस्या समाधान गर्नेछ? कि यो पनि एउटा प्रचारको हिस्सा मात्रै हुनेछ? धरानका नागरिकको एउटै अपेक्षा छ—सडक सुधार, यो अस्थायी पीडाको अन्त्य, र एक सुरक्षित तथा धुलोमुक्त धरान।