धरानः धनकुटा भोजपुर – धनकुटा र भोजपुर जिल्लामा अवैध रूपमा खेती गरिएका र स्वाभाविक रूपमा उम्रिएका गाँजाका बोटहरू नष्ट गर्ने अभियान प्रहरीद्वारा तीव्र रूपमा सञ्चालन भइरहेको छ।
यस क्रममा, शुक्रवार धनकुटाको विभिन्न गाउँपालिकामा ३८ रोपनी क्षेत्रफलमा रोपिएका ३० हजार १०० गाँजाका बोटहरू फडानी गरेर जलाइएको छ भने भोजपुरमा २२ रोपनी क्षेत्रफलमा फैलिएका १६ हजार ५ सय गाँजाका बोट नष्ट गरिएको प्रहरिले आफ्नो फेसबुकमा पोस्ट गरेको छ।
धनकुटामा इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, प्रहरी चौकी त्रिवेणी, र आँखीसल्लाको प्रहरी टोलीले संयुक्त रूपमा शहिदभूमि र साँगुरीगढी गाउँपालिका क्षेत्रमा व्यापक रूपमा रोपिएका गाँजाका बोटहरूलाई फडानी गरी जलाएको छ।
यस्तै, भोजपुरमा इलाका प्रहरी कार्यालय घोडेटारको टोलीले हतुवागढी गाउँपालिकाको २२ रोपनी पाखाबारीमा अवैध रूपमा खेती गरिएका १६ हजार ५ सय गाँजाका बोटहरू फडानी गरी नष्ट गरेको छ।
धनकुटा र भोजपुर दुवै जिल्लामा प्रहरीको यो अभियानलाई निरन्तरता दिइने बताइएको छ। गाँजा खेतीलाई नियन्त्रणमा लिन र यससँग सम्बन्धित गैरकानूनी गतिविधिहरू रोक्न प्रहरी सक्रिय रूपमा काम गरिरहेको छ।