२८श्रावण धरान:धरान खानेपानी व्यवस्थापन बोर्ड र दश दलीय संयुक्त सङ्घर्ष समिति बिच आइतबार भएको बार्तामा दुवै पक्ष पुरानै दर यथावत् राख्नेमा सहमत भएका छन् ।
नेपाल सरकार खानेपानी महशुल निर्धारण आयोगको स्वीकृति नआए सम्म बोर्डले वृद्धि गरेको शुल्क र महशुल स्थगित गरी पुरानै सेवा शुल्क र महसुलको दर यथावत् राखिएको हो ।
करिब ७ घण्टासम्म चलेको वार्तापछि भएको तीन बुदेँ सहमति पहिलो सहमतिमा भनिएको छ ‘खानेपानी तथा सेवा महशुल निर्धारण आयोगलाई लिखित पत्र पठाई जवाफको आधार मानी जवाफ नआइन्जेल सम्म पुरानै दर महशुल यथावत् राखी पुनर्विचार गर्ने निर्णय गरियो ।’
दोस्रो सहमतिमा ‘धरान खानेपानी व्यवस्थापन बोर्डको पूर्णताको विषयमा यो विषय सम्मानित उच्च अदालतमा विचाराधीन रहेको हुनाले सम्मानित अदालतको आदेश प्राप्त भएपछि सोही अनुसार हुने निर्णय गरियो । र तेस्रो सहमतिमा‘धरान खानेपानी बोर्डको आय व्यय विवरण ७ (सात) दिन भित्र सार्वजनिक गर्ने निर्णय भएको छ ।’
वार्तामा खानेपानी व्यवस्थापन बोर्ड अध्यक्ष तथा नगर प्रमुख हर्क साम्पाङ, उपप्रमुख अइन्द्रविक्रम बेघा, वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई दलहरूबाट नेपाली काँग्रेसका श्याम पोखरेल, नेकपा एमालेका हर्कजंग एभेङ, नेकपा माओवादीका चोत्लुङ, जसपाका सुमन चेम्जोङ, नेकपा एसका रेवतीरमण राई, रास्वपाका ठाकुरबहादुर कार्की, नागरिक उन्मुक्ति पार्टीका अमर इजम, सलोराम सङ्घीय लिम्बुवानका मोहनकुमार तिगेला, राष्ट्रिय साझा पार्टीका भूपी कोयु, इलाका प्रहरीका धरानका डिएसपी मानबहादुर राई, सशस्त्र प्रहरीका डिएसपी हेम पौडेल, वडा १७ का अध्यक्ष मनोज भट्टराई, पत्रकार महासङ्घ सभापति जनकऋषि राई र खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल उपस्थित थिए ।
माओवादी केन्द्रका सदस्य चोत्लुङका अनुसार सहमति भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन।
सहमती पछि आन्दोलनरत पक्षलाई सम्बोधन गर्दै मेयर हर्क साम्पाङले आफुले रहरले खानेपानीको महशुल नबढाएको विदेशी ऋृण तिर्नु पर्ने बाध्यता भएकोले महशुल बढाउने निर्णय गरेको ऋृण तिर्ने अन्य आयोजनाहरु मिलेर अगाडि बढने सहमती भएको बताएका छन ।