संजिता धमला
धरान रंगशालामा भोलि माघ २५ गतेदेखि सुरु हुने ‘धरान एक्स्पो २०८१’को सम्पूर्ण तयारी पूरा भएको सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ।
उद्धघाटन समारोहलाई थप रोचक बनाउन प्याराग्लाइडिङबाट पुष्पबृष्टि गरि कार्यक्रम शुभारम्भ हुनेछ।
संघका अध्यक्ष विजय श्रेष्ठका अनुसार यस एक्स्पोले स्थानीय कृषि, उद्योग, र पर्यटनलाई प्रवर्द्धन गर्दै धरानलाई क्षेत्रीय व्यापारिक केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्नेछ। प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको सहकार्यमा आयोजित यस मेलाको उद्घाटन उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्नेछन्।अन्य मन्त्रालयका मन्त्रिहरुको समेत उपस्थिति रहनेछ।
१० दिनसम्म सञ्चालन हुने मेलामा करिब १५० स्टलहरू रहने छन्, जसमा कृषि उत्पादन, हस्तकला, पर्यटन, तथा उद्योगका सामग्रीहरू उपलब्ध हुनेछन्। आगन्तुकहरूले सस्तो र गुणस्तरीय सामानहरू खरिद गर्न पाउनेछन् भने मनोरञ्जनका लागि स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति समेत समावेश गरिएको छ। पहिलो दिन चर्चित गायिका ईन्द्रकला राईले आफ्नो प्रस्तुति दिनेछिन्, जसमा ‘बार्दली’, ‘उडायो मन’ जस्ता हिट गीतहरू प्रस्तुत हुनेछन्।
मेलामा भारत र बंगलादेशका स्टलहरू समेत रहनेछन्, जसमा तेल, साबुन, चाउचाउ बजारभन्दा सस्तो पाइने आयोजकले दाबी गरेको छ। पहिलो दिन ४ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने पानवारी र बराहक्षेत्रलगायत विभिन्न स्थानबाट बस सुविधा समेत उपलब्ध गराइएको छ।