घरपालुवा जनावर कुकुरको कारण हुने सवारी दुर्घटनाबाट ठूलो क्षति हुँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
चालु आर्थिक वर्षको हालसम्म कुकुरका कारण ४५ वटा दुर्घटना भएको भनी ट्राफिक प्रहरीमा जानकारी आएको ट्राफिक प्रहरीका सइ पूर्ण गौतमले बताए । नेकपा (एमाले) बुद्धशान्ति गाउँ कमिटीका अध्यक्ष नेत्रप्रसाद रिजाल पुस १३ गते साँझ ५ बजे आफैले चलाएको मोटरसाइकल कुकुरकै कारण दुर्घटनामा परेको थियो ।
सडकमा अचानक कुकुरले बाटो काट्दा दुर्घटनामा परेको उनले प्रहरीलाई जानकारी गराएका थिए । मेची नगरपालिकामा कार्यरत कर्मचारी सरोज अधिकारी सवार मोटरसाइकलमा अचानक कुकुर ठोक्किन आइपुग्दा ठूलो दुर्घटना भयो । तर, जसोतसो उनको ज्यान जोगियो । चार दिन अस्पताल बसेर सघन शल्यक्रियापश्चात् उनी घर फर्किए ।
यस्तै कुकुरकै कारण झापा भद्रपुरका निश्चल राजभण्डारीको सवारी दुर्घटनामा परी काठमाडौँमा ज्यान गयो । भक्तपुरको सानो ठिमीमा एकहप्ताअघि भएको स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका राजभण्डारीको उपचारका क्रममा मृत्यु भएको हो । बाटो काट्दै गरेको कुकुरलाई बचाउने क्रममा स्कुटर अनियन्त्रित भएर श्रीमतीसहित उनी दुर्घटनामा परेका थिए ।
त्यसैगरी मेचीनगर नगरपालिका नगर प्रमुखको सचिवालयका स्वकीय सचिव आशिष पौडेल केही महिनाअघि दुर्घटनामा परे । अस्पताल बसेर हातको शल्यक्रिया गरेर फर्किए । केही दिन अघिमात्र कुकुरकै कारण मेचीनगर–१२ सहरेडाँगीका तीर्थ घिमिरे पूर्व–पश्चिम लोकमार्गको बिर्तामोडस्थित बुट्टाबारीमा दुर्घटनामा परी गम्भीर घाइते भए । मेचीनगर–४ को बाहुनडाँगीबाट काँकडभिट्टातर्फ आउँदै गर्दा एकजना सञ्चारकर्मी पनि कुकुरकै कारण दुर्घटनामा परेका थिए ।
यी माथिका घटना कुकुरका कारण दुर्घटना भएको प्रतिनिधि घटनामात्र हुन् । सामुदायिक कुकुरसमेत दुर्घटनाको कारण बन्दै गएका छन् । यस्ता कुकुरहरूको नियन्त्रणमा लाग्नुपर्ने उमेश राईको भनाइ छ । बेलैमा यस्ता कुकुर नियन्त्रण नगरे दुर्घटना अझै बढ्ने उनले बताए । भद्रपुर नगर प्रमुख गणेश पोखरेलले नगरभित्रका कुकुरहरूलाई व्यवस्थापन गर्ने विकल्प नरहेको बताए । उनले सामुदायिक कुकुरको हकमा नगरले बर्सेनि बन्ध्याकरण गर्दै आएको बताए । ‘बन्ध्याकरणबाहेक अन्य विकल्प हाल छैन’–उनले भने ।