धरानः मोरङमा मर्निङ वाकमा गएकी युवती बाँसघारीमा हातखुट्टा बाँधिएको अवस्थामा फेला परेकि छिन्।
मोरङको जहदा गाउँपालिका–३, राधाकृष्ण चौक जयरामपुर टोलकी २२ वर्षीय पूजा ऋषिदेवलाई मंगलबार बिहान मर्निङ वाकमा निस्केपछि अज्ञात व्यक्तिहरूले अपहरण गरी बाँसघारीमा हातखुट्टा बाँधेर फालिएको अवस्थामा फेला पारिएको छ।
उनकी बहिनीका अनुसार, पूजा बिहान वाक गर्न बाहिर निस्किएकी थिइन्। उनलाई अचेत अवस्थामा देख्दा पनि उनी होसमा भएकी थिइन् र हातको इशाराले गाउँलेलाई बोलाएकी थिइन्। गाउँलेहरूले परिवारलाई खबर गरेपछि प्रहरीलाई सूचित गरिएको थियो।
घटनाको जानकारी पाउनासाथ मोरङ जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रकाश नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीको टोलीले उनलाई उद्धार गरी कोशी अस्पतालमा भर्ना गरेको छ। प्रारम्भिक अनुसन्धानमा पूजा ऋषिदेवको बलात्कार हुन सक्ने आशंका गरिएको छ, जसको पुष्टि मेडिकल जाँचपछि मात्र हुनेछ।
प्रहरी उपरीक्षक नारायण चिमरियाले घटनास्थलमा पुगेपछि पीडितलाई भेटेर अनुसन्धान सुरु भएको जानकारी दिएका छन्।