धरानः नेपाल प्रहरी श्रीमती संघले नेपाल पुलिस स्कुल धरानलाई दुई थान स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ।
बिहीबार आयोजित विशेष कार्यक्रममा संघकी अध्यक्ष लक्ष्मी कुँवर र उपाध्यक्ष रुपा थापाले विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गरे।
विद्यालयकी प्राचार्य मनिका सुब्बा राईले स्वागत मन्तव्यमा श्रीमती संघको यस किसिमको सहयोगले विद्यालयको पठनपाठनमा गुणात्मक सुधार ल्याउने र विद्यार्थीको शिक्षामा थप हौसला प्रदान गर्ने बताइन्।
कार्यक्रमका प्रमुख अतिथि तथा संघकी अध्यक्ष लक्ष्मी कुँवरले शिक्षालाई मानव जीवनको अमूल्य धनको रूपमा उल्लेख गर्दै, संघले शैक्षिक सामग्री वितरण र छात्रवृत्तिका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी गराइन्। स्मार्ट कक्षामा प्रविधिमैत्री शिक्षा उपलब्ध गराउन र विद्यार्थीहरूलाई इन्टरनेट मार्फत थप ज्ञान प्राप्त गर्न सहयोग पुर्याउने उद्देश्यले स्मार्ट बोर्ड प्रदान गरिएको कुँवरले बताइन्।
बिग्यापन
कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख तथा विद्यालयका संरक्षक, प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजन अधिकारीले शिक्षामा प्रविधिको प्रयोग अनिवार्य भएको बताउँदै, यसले विद्यालयलाई प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
कार्यक्रमको समापनमा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका एसएसपी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराज सापकोटाले श्रीमती संघको सहयोगले विद्यालयलाई थप सशक्त र ऊर्जावान बनाएको र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूको अपेक्षा राख्दै धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका एसएसपी अभिनारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम बहादुर दाहाल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक, कर्मचारी र नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।