विराटनगरः कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजन अधिकारीले पदभार ग्रहण गरेका छन्।
नेपाल सरकार गृह मन्त्रालयको मंसिर २७ गतेको निर्णयअनुसार विशेष व्यूरोबाट सरुवा भएका अधिकारीले पुस ३ गते कार्यभार सम्हालेका हुन्।
डीआईजी अधिकारीलाई प्रदेश प्रहरी कार्यालय विराटनगरमा विशेष सम्मानका साथ स्वागत गरिएको थियो। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अबि नारायण काफ्ले, भीम बहादुर दाहालसहित विभिन्न जिल्ला प्रहरी प्रमुखहरू, प्रहरी अधिकृतहरू र प्रहरी कर्मचारीहरूको उपस्थितिमा अधिकारीलाई सलामी दिइएको थियो। उनले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै पलान्चोक भगवती मन्दिरमा पूजा अर्चना गरेका थिए। साथै, अधिकारीले कार्यालय परिसरमा बृक्षारोपण पनि गरे।
पदभार ग्रहणपछि आयोजित कार्यक्रममा एसएसपी दाहालले कोशी प्रदेशको वर्तमान शान्ति सुरक्षा अवस्था, जनशक्ति व्यवस्थापन, अपराध स्थिति, र नयाँ कार्य योजनाहरूको अवगत गराए। डीआईजी अधिकारीले प्रदेशका प्रहरी अधिकारी तथा जवानहरूलाई आवश्यक निर्देशन दिँदै प्रहरीलाई समाजको “मुटु” का रूपमा परिभाषित गरे। उनले प्रहरीको अहोरात्र खटाइले समाजलाई जीवित र सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
अधिकारीले सवारी दुर्घटना, साइबर अपराध, लागुऔषध ओसारपसार, सहकारी ठगी लगायतका अपराध नियन्त्रणका लागि योजनाबद्ध ढंगले कार्य गर्नुपर्ने बताए। “अपराधीलाई डर र निर्दोषलाई भर” को नारा लिएर, उनले प्रहरी संगठनको छविलाई उच्च राख्दै नागरिकहरूको विश्वास जित्ने र उनीहरूको सेवामा व्यावसायिक र इमानदार रूपमा खटिन निर्देशन दिए।
समारोहमा अधिकारीले प्रहरी जवानहरूलाई त्रुटीरहित रूपमा आफ्नो कर्तव्य पूरा गर्न र समाजमा शान्ति सुरक्षाको जग मजबूत बनाउन थप प्रयास गर्न आह्वान गरे।