धरानः धरान संगीत प्रतिष्ठानले पहिलो पटक धरानमा स्वर सम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस भव्य रूपमा मनाएको छ।
नेपाली सांगीतिक क्षेत्रका अमर गायक नारायण गोपालको योगदानलाई सम्मान गर्दै आयोजित यस विशेष कार्यक्रममा विभिन्न कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए।
नारायण गोपाल, जसलाई नेपाली सांगीतिक क्षेत्रको आधारस्तम्भ मानिन्छ, उनले आफ्नो जीवनकालमा नेपाली गीतसंगीतमा अमूल्य योगदान पुर्याएका थिए। उनका मार्मिक र गहिरा गीतहरूले नेपाली जनमानसमा गहिरो छाप छोडेका छन्। उनको स्मृति दिवसको अवसरमा धरानका संगीतप्रेमीहरू, स्रष्टाहरू, र नवउदीयमान कलाकारहरूको सहभागिता विशेष रह्यो।
कार्यक्रममा वाद्यवादन तर्फ सन्दिप प्रधान, नवराज शाक्य, विनोद प्रियदर्शी, महेश तामाङ, सौरभ उदास, रन्जित प्रधान, धिरज श्रेष्ठ, र मनोज मोत्तेको प्रस्तुतिले श्रोताहरूलाई मन्त्र मुग्ध बनायो।
त्यसैगरी, बाल गायक राजेश परियार, मेनुका कट्टेल र महेन्द्र राईले युगल गीत गाएर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। अन्य कलाकारहरू मेलिना राई, सन्दिप प्रधान, कृष्ण राजा श्रेष्ठ, धिरज श्रेष्ठ, नवराज शाक्य, प्रतिष्ठानका अध्यक्ष रमेश राई र पम्फा चहारले पनि युगल प्रस्तुति दिएका थिए।
नारायण गोपालका गीतहरूले नेपाली समाजको भावना र जीवनको विविध पक्षलाई उजागर गर्दै आएको इतिहास रहेको छ। धरान संगीत प्रतिष्ठानको यस आयोजनाले नारायण गोपालको स्मृतिलाई जीवन्त राख्ने र नयाँ पुस्तामा नेपाली संगीतप्रतिको प्रेम जागृत गर्ने उद्देश्य राखेको थियो।