सॅजिता धमला
धरानः धरान-१७ स्थित माउण्ट मोरिया स्कुलका शिक्षक असित ठकुरीलाई छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको छ।
ठकुरीमाथि कक्षा ७ देखि १० सम्मका छात्राहरूलाई लामो समयदेखि सामाजिक सॅजालको दुरुपयोग गरि शारीरिक रूपमा दुर्व्यवहार गर्दै आएको आरोप लागेको छ।
प्रहरीको भनाइ अनुसार, ठकुरीले छात्राहरूलाई गोप्य अङ्गमा छुने, सामाजिक संजालमा अश्लील भिडियो पठाउने, र सामाजिक सञ्जालमा आपत्तिजनक सन्देशहरू पठाउनेजस्ता गम्भीर गतिविधिमा संलग्न भएको बताइएको छ।
अभिभावकहरूले आइतबार बिद्यालय नै पुगेर उनलाई कुटपिट गरेपछि प्रहरीको हस्तक्षेपमा पक्राउ गरिएको हो।
मङ्गलवार अभिभावकहरूले बाल यौन दुर्व्यवहारमा जाहेरी दर्ता गरेपछि ठकुरीमाथि २०४ दर्ता नम्बरको मुद्दा चलाइएको छ। सुनसरी जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ। बाल यौन दुर्व्यवहारसम्बन्धी कानुनले यस्तो मुद्दामा १० वर्षसम्मको कैद सजायको प्रावधान गरेको छ।
विद्यालयका प्रिन्सिपल प्रताप तामाङले विद्यार्थीहरूले सुरुमा गुनासो गर्दा त्यसलाई गम्भीर रूपमा नलिएको स्वीकार गरेका छन्। उनका अनुसार, विद्यार्थीहरूले पूर्ण रूपमा खुलेर कुरा नगरेकोले आफूले तत्काल कुनै कदम चाल्न नसकेको बताए। “विद्यार्थीहरूले पहिले नै स्पष्ट रूपमा गुनासो गरेका भए, म आफैंले शिक्षक ठकुरीमाथि कारबाहीको पहल गर्ने थिएँ,” उनले भने।
अभिभावकहरूले विद्यालय प्रशासनले विद्यार्थीहरूको गुनासोलाई बेवास्ता गरेको आरोप लगाएका छन्। उनीहरूको भनाइ अनुसार, लामो समयदेखि विद्यालयमा यौन दुर्व्यवहारको समस्या रहेको भए पनि त्यसलाई समाधान गर्न प्रयास नगरेको देखिन्छ।
यस घटनाले विद्यालयभित्रको यौन दुर्व्यवहार रोकथाम र कानुनी सचेतनाको आवश्यकता पुनः उजागर गरेको अभियान्ता बताउॅछन्।