विराटनगर, मंसिर १६ – मोरङको ग्रामथान गाउँपालिकामा भोलि हुने उपनिर्वाचनको लागि सुरक्षा व्यवस्था पूर्ण रूपमा तयार भएको छ। ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि उपनिर्वाचन मंसिर १६ गते बिहान ७ बजेबाट सुरू हुनेछ। मतदान साँझ ५ बजेसम्म जारी रहने छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार, १२ मतदानस्थल र २९ मतदान केन्द्र तयार पारिएका छन्, जसमध्ये ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्य श्रेणीमा राखिएको छ। ती स्थानहरूमा त्यसै अनुसारको सुरक्षा व्यवस्था मिलाइएको छ। उपनिर्वाचनका लागि डिएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिनेछ भने संवेदनशील स्थानहरूमा प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षा बल खटाइनेछ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिले उपनिर्वाचनको सुरक्षाका लागि विशेष टोली गठन गरिएको बताए। मोबाइल गस्तीका लागि चार टोली परिचालित हुनेछन् भने रिजर्भ र स्ट्राइकिङ टोली पनि तयारी अवस्थामा रहने जानकारी दिए।
ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि विभिन्न दलका १५ र एक स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रमुख दलहरूमा नेकपा एमालेबाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार, र नेकपा माओवादी केन्द्रबाट नमोनारायण माझी प्रतिस्पर्धामा रहेका छन्।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए। उनको असार ३ गते निधन भएपछि रिक्त रहेको पदका लागि उपनिर्वाचन हुन लागेको हो।