०६ मङ्सिर धरानःकोशी प्रदेशको धरानस्थित कोशी लोकमार्गमा बिहीबार साँझ सवारी दुर्घटना भएको छ। दुर्घटना धरान उपमहानगरपालिका–४ स्थित बौद्ध बिहार नजिकै भएको हो।
धरानबाट धनकुटातर्फ गइरहेको प्र.१-०२-००२ ख ०२८६ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्र.१-०१-१३ प १४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजना व्यक्ति घाइते भएका छन्।
मोटरसाइकल चालक, मोरङको बेलबारी नगरपालिका-२ निवासी १९ वर्षीय निश्चल चेम्जोङ लिम्बु अनुहारमा चोट लागेर घाइते भएका छन्। त्यस्तै, मोटरसाइकलको पछाडि सवार २० वर्षीय बिवश बि.क. पनि शरिरका विभिन्न भागमा चोट लागेको छ। दुवैलाई तत्कालै धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ।
ट्रक र मोटरसाइकल दुवैलाई नियन्त्रणमा लिइएको छ। ट्रक चालक संखुवासभा धर्मदेवी नगरपालिका -८ निवासी ३५ वर्षीय हरिबिनोद सुवेदीलाई धरान अमरहाट प्रहरीले नियन्त्रणमा लिएको हो। दुर्घटना स्थलमा प्रहरी निरीक्षक भल बहादुर कटुवालको कमाण्डमा टोली खटिएको थियो।
प्रहरीका अनुसार, दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ। प्रारम्भिक विवरणअनुसार सडकको भौगोलिक अवस्थाका कारण दुर्घटना भएको अनुमान गरिएको छ।सवारी दुर्घटनाहरूमा संलग्न सवारी साधनहरूको सुरक्षाका मापदण्ड पूरा गर्न आवश्यक छ। स्थानीय ट्राफिक नियमहरूको कडाइका साथ पालना गर्न सबैले ध्यान दिनुपर्छ, जसले गर्दा यस्ता घटनाहरू न्यूनिकरण गर्न सकिने प्रहरीको भनाई छ।