सुनसरी – सुनसरीको ईटहरी-१०, शान्ति चोकस्थित कोशी लोकमार्गमा भएको बस दुर्घटनामा १३ वर्षीया किशोरीको घटनास्थलमै मृत्यु भएको छ।
प्र१-०१-००१ख ४५७४ नम्बरको नागरिक बसले उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा सोही दिशातर्फ साईकलमा गइरहेकी ईटहरी-१० निवासी श्याम नारायण यादवकी छोरी सम्झना यादवलाई ठक्कर दिएको हो। ठक्करका कारण सम्झनाको घटनास्थलमै मृत्यु भएको ईटहरी प्रहरीले जनाएको छ।
दुर्घटनापछि आक्रोशित स्थानीयहरूले बसलाई खनार चोकमा रोकेर तोडफोड गर्दै आगजनी गरेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालित भए पनि स्थिति तनावपूर्ण रहेको छ।
घटनालगत्तै बस चालक मोरङ, विराटनगर-१३ निवासी २७ वर्षीय अमित श्रेष्ठलाई ईटहरी प्रहरीले नियन्त्रणमा लिएको छ। ठक्करपछिको सडक अवरोधका कारण कोशी लोकमार्गको यातायात प्रभावित भएको छ।
प्रहरीले घटनास्थलमा शान्ति व्यवस्था कायम गर्दै अनुसन्धान अघि बढाइरहेको छ। २ जना प्रहरीलाई समेत सामान्य चोट पुगेको स्रोतको भनाई छ।