संजिता धमला
धरानः लिम्बू समुदायको महत्वपूर्ण सांस्कृतिक धरोहर च्याब्रुङको नयाँ इतिहास धरानमा कोरिएको छ।
धरान-५ मा आयोजित चासोक थिसक पर्वको अवसरमा २२ इन्च चौडाई भएको विश्वकै सबैभन्दा ठूलो च्याब्रुङ सार्वजनिक गरिएको छ। यसै कार्यक्रमका प्रमुख अतिथि तथा धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र बिक्रम बेघाले सोहि च्याब्रुङ बजाएर उद्घाटन गरेका हुन् ।
लिम्बू समुदायमा प्रचलित च्याब्रुङ बाजा, जसलाई लिम्बू भाषामा “के” भनिन्छ, उनीहरूको परम्परागत बाजा हो। विशेष गरी उधौली र उभौली पर्वहरूमा बजाइने यो बाजाले समुदायको सांस्कृतिक पहिचानलाई बलियो बनाउँदै आएको छ। च्याब्रुङसँग जोडिएको नाचलाई लिम्बू भाषामा “केलाङ” भनिन्छ, र यो नाच विवाह, भोजभतेर, तथा विभिन्न सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरिन्छ।
कार्यक्रममा उपस्थित सांस्कृतिक अभियन्ता अमृत थेबेका अनुसार नेपालमा प्रायः २० इन्चसम्मको च्याब्रुङ प्रयोग गरिन्छ, तर धरानमा निर्माण गरिएको २२ इन्च चौडाइको यो च्याब्रुङ विश्वमै सबैभन्दा ठूलो मानिएको छ। यो नयाँ च्याब्रुङ लिम्बू समुदायको सांस्कृतिक सम्पदालाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ। अन्य देशमा च्याब्रुङ प्रचलनमा नरहेकाले यहि च्याब्रुङलाई बिश्वकै ठूलो मान्दा फरक नपर्ने कुरा मोहन तिगेलाले बताए।
यस प्रकारको बाजा परम्परागत रूपमा लिम्बू समुदायको ध्वनि र तालको महत्वपूर्ण अंश रहँदै आएको छ। च्याब्रुङ प्रायः मृत गोरु वा गाईको छालाबाट बनाइने भए पनि कतिपय ठाउँमा बाघको छालाको प्रयोग हुने गरेको पाइन्छ। मादल जस्तै बनाइएको भए तापनि, यसमा खरीको प्रयोग हुँदैन, र यो बाजाले सुमधुर ध्वनि उत्पन्न गर्छ।
यस सांस्कृतिक कार्यक्रममा झ्याम्टाको साथमा च्याब्रुङ बजाएर केलाङ नाच पनि प्रस्तुत गरिएको थियो, जसले उपस्थित समुदायलाई उत्साह र गर्व दिलाएको थियो।