धरान ः मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ द्धारा कोशी प्रदेशबाट ४४ जना आश्रित सडक मानवको उद्धार गरिएको छ ।
मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशबाट ४४ जनाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
गत असोज २८ गते कोशी प्रदेश प्रवेश गर्नु भएको टोलीले पूर्वको मेचीनगरनगर नगरपालिकाबाट सुरु भएको यात्रामा चौथोदिन कार्तिक १ गतेसम्मको अवधिमा ४४ जनाको उद्धार गरिएको उनले बताए ।
कार्तिक १ गते उदयपुरको गाईघाटसम्म पुग्दा कोशी प्रदेशबाट जम्मा ३५ जना पुरुष र ९ महिला गरी जम्मा ४४ जनाको उद्धार भएको छ ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ सुरु भएको यात्रा ३२ दिनसम्म सञ्चालन हुने अध्यक्षले बताए ।
यात्राको पहिलो दिन मेचीनगर नगरपालिकाबाट ४ जना, बिर्तामोड नगरपालिकाबाट २ जना, कन्काई नगरपालिकाबाट २, शिवसताक्षी नगरपालिकाबाट २, दमक नगरपालिकाबाट २ गरि झापाबाट १२ जना र यात्राको दोस्रो दिन बेलबारी नगरपालिकाबाट २ जना, ग्रामथान गाउँपालिकाबाट १ जना र विराटनगर महानगरपालिका १ गरि मोरङ जिल्लाबाट ४ जना र यात्राको तेस्रो दिन दुहबी नगरपालिकाबाट १ जना, इटहरी उपमहानगरपालिकाबाट ७ जना, धरान उपमहानगरपालिकाबाट ४ जना गरि सुनसरीबाट जम्मा १२ जनाको उद्धार गरिएको थियो ।
उद्धार यात्राका क्रममा कार्तिक १ गते बिहीबार उदयपुरका विभिन्न स्थानहरुबाट १६ जनाको उद्धार गरिएको अध्यक्षले बताए ।
उदयपुरको बेलका नगरपालिकाबाट ६ जना, चौदन्डीगढी नगरपालिकाबाट ७ जना, त्रियुगा नगरपालिकाबाट १ जना, कटारी नगरपालिकाबाट २ जना गरि जम्मा १६ जनाको उद्धार गरिएको उनले जानकारी दिए ।
सुनसरी र मोरङबाट उद्धार गरिएकाहरुको सोही दिननै मानवसेवा आश्रम विराटनगर शाखामा लगिएको थियो भने कार्तिक १ गते उदयपुरबाट उद्धार गरिएकाहरुलाई १ गते नै मानवसेवा आश्रम विराटनगर शाखामा लगिएको मानपसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।आज कार्तिक २ गते शुक्रबारदेखि टोलीले मधेश प्रदेश प्रवेश गर्नेछ जिल्लाका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताइरहनु भएका आश्रित सडक मानवहरुको उद्धार गरिने कार्यक्रम रहेको अध्यक्षले बताए ।
उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित जम्मा ४७ जना यात्री टोली रहेका छन ।
मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गरिसकेको छ विगत १२ वर्षदेर्खि सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउदै आएको छ ।