धरान , धरानमा पहिलो पटक राष्ट्रिय खुल्ला ब्याडमिन्टन च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ ।
धरान ब्याडमिन्टन क्लबल पत्रकार सम्मेलनको आयोजना गरी आगामी १७ गते देखि १९ गते ३ दिन ब्याडमिन्टन प्रतियोगिता हुने कार्यक्रमका संयोजक टंक बहादुर लिम्बुले जानकारी दिए ।
लिम्बुका अनुसार खेलमा प्रतियोगितामा नेपालको ७७ वटै जिल्लाका २ सय टिमका ६०० जना खेलाडी सहभागी हुनेछन भने, सुरक्षा निकायबाट ३ वटा विभागीय टोली समेत सहभागी हुने छन ।
खेलको माध्यमबाट आपसी भाइचारा, सद्भाव वृद्धि, साथै धरानको खेल र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य साथै ‘प्रतियोगीताहरु आयोजना हुन नसक्दा युवा प्रतिभाहरू पलायन भई समक्ष खेलाडी उत्पादनमा कमी आएकाले प्रतियोगिता आयोजना गरिएको संयोजक लिम्बुले बताए ।
प्रतियोगितामा खुल्ला पुरुष डबलतर्फका विजेता जोडीलाई रु.१ लाख १५ हजार नगद पुरस्कार ,उपबिजेताले रु.५५ हजार तेस्रो पुरस्कार रु.३० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
यस्तै खुल्ला भेट्रान्स ४५ प्लस, सुपर भेट्रान्स ५५ प्लस र लेडिज डबल्स, मिक्स डबलका विजेताले रु.६५ हजार, उपबिजेताले ३३ हजार र तेस्रो हुनेले रु.११र११हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगितामा राष्ट्रिय रेफ्री तथा कोच केदार धिमाल प्रमुख निर्णायक रहने बताइएको छ । टिम दर्ता शुल्क खुल्ला मेन्स डबल, भेट्रान ४५ प्लस, सुपर भेट्रान ५५ प्लसका प्रतियोगीका लागि रु.३ हजार रुपैयाँ, मिक्स डबल रु.२५ सय र खुल्ला लेडिज डबलका प्रतियोगीका लागि रु.२ हजार रुपैयाँ निर्धारण गरिएको धरान ब्याडमिन्टन संघले जनाएको छ ।
खेल प्रतियोगीताका लागि धरान उपमहानगरपालिका–१३ अमर सेवा समाजको कभर्डहलमा सञ्चालन हुने छ ।
प्रतियोगितामा करिव रु.२२ लाख भन्दा बढी खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगितामा कोशी प्रदेश खेलकुद परिषदले रु.८ लाख, धरान उपमहानगरपालिकाले रु.१ लाख ५० हजार, विभिन्न वितिय संघ संस्था र स्पोन्सरबाट रकम संकलन गरिएको आयोजकले जनाएको छ ।