धरान :इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।
इटहरीमा क्षेत्रमा घुम्न आउने पर्यटकहरूलाई आतंकित पारी लुटपाट गर्ने सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए ।
उहाँका अनुसार इटहरी तालतलैया क्षेत्रमा आउने पर्यटकहरूलाई आतंकित पारी सांगठनिक रुपमा नगद र गरगहना लुटपाट गर्ने सातजनालाई पक्राउ गरिएको हो । झापा बाह्रदशी गाउँपालिका–३ राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतलाई तालतलैया घुम्न आएको समयमा बाटो छेकेर चक्कु देखाउँदै २ लाख लुटपाट गरी फरार भएका थिए ।
उक्त घटना सम्बन्धमा पीडितहरूले इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएपछि प्रहरी परिचालन गरी लुटपाटमा संलग्नहरुलाई खोजी गरि पक्राउ गरिएको डीएसपी भण्डारीले बताए ।
पक्राउ पर्नेमा रामधुनी नगरपालिका–३ को २२ वर्षीय अनिस कोइराला, १९ वर्षीय शुसन थापा, इटहरी उपमहानगरपालिका–४ को २४ वर्षीय विशाल तामाङ, १८ वर्षीय सुनिल बस्नेत, १८ वर्षीय निश्चल बस्नेत वडा नम्बर ७ को १८ वर्षीय साकार भण्डारी तथा इटहरी उपमहानगरपालिका–४ का २४ वर्षीय विशाल तामाङ र वडा नम्बर १६ का १८ वर्षीय रिचन खत्री रहेका छन्।
उनीहरूको साथबाट रु.३ लाख २ सय ५५ रुपैयाँ नगद, सहित चक्कु, ओकेटोके हेण्ड सेट र मोबाइल बरामद गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका सातै जनालाई सुनसरी जिल्ला अदालतमा पेस गरी पाँच दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।