धरान :पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् ।
खुलमटारमा आज एक कार्यक्रम आयोजना गरी उनले नेपालका लागि ओलम्पिकमा पहिलो पदक प्राप्त गर्न सफल प्रलेशालाई सम्मान गरेका हुन । उनले पलेशासँगै प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुबा प्रदीपलाई पनि सम्मान गरेका थिए ।
सो क्रममा अध्यक्ष दाहालले पलेशाको जितले संसारभरि रहेका नेपालीले गौरव गर्ने अवसर प्राप्त भएको बताए । “ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले पदक प्राप्त गर्नु सामान्य विषय होइन, यसले विश्वभरि रहेका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको उल्लेख गरे ।
“खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रवर्द्धन गर्छ, त्यसैले पलेशाको यो जित अन्तर्राष्ट्रिय इतिहास कायम गर्ने महत्त्वपूर्ण जित हो ।”
पलेशाको जित राष्ट्रिय एकताको आधार र अन्तर्राष्ट्रिय कूटनीति प्रवर्द्धनमा ऐतिहासिक बन्न पुगेको उल्लेख गर्दै उनले आगामी ओलम्पिकमा पनि थप सफलताको शुभकामना दिएका छन् । अध्यक्ष दाहालले यस जितका लागि आधार तयार पार्ने प्रशिक्षक, व्यवस्थापक, तेक्वान्दो सङ्घ र घरपरिवारलाई राष्ट्रका लागि योगदान गरेकामा धन्यवाद र बधाई समेत दिएका छन् ।
सो अवसरमा विजेता पलेशाले पदक प्राप्त गर्दाको अनुभूति सुनाउँदै आगामी ओलम्पिकमा स्वर्ण पदकका लागि तयारी गर्ने बताएका छन् ।