धरानः नेपाली कांग्रेसले बराहाक्षेत्र नगरपालिकाको कालावञ्जारमा समुदायमा आधारित तीज विशेष कार्यक्रम गरेको छ । बराहक्षेत्र नगरपालिकाको वडा नं. ३, ४ र ५ लाई समेटेर साविक भरौल गा.वि.स. को कालाबञ्जारमा नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले कार्यक्रम गरेको हो ।
कार्यक्रममा तीज विशेष संगीनी गाउने तथा खेल्ने, दाइजो प्रथा विरुद्ध सचेतना सम्बन्धि नाटक प्रस्तुत र तीज नृत्य प्रतियोगिता समेत गरिएको थियो । प्रतियोगितामा वडा नं. ३ की सिजी राजधामी प्रथम, वडा नं. ५ की सपना श्रेष्ठ दोश्रो र वडा नं. ४ की कुमारी बस्नेत तेश्रो भएकी थिइन । उनीहरुलाई तीजको सारी पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा सांसद डा. सुनिल शर्मा समेत नाच्न आईपुगेका थिए । उनले छोटो मन्तव्य राख्दै आफु नाच्न मात्र आएको बताएका थिए ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले शुभकामना व्यक्त गर्दै महासमितिको निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गरेको भन्दै खुशी प्रकट गरेका छन् ।
सभापति तामाङले हरितालिका तीज हिन्दु नारीहरुको चाड भएतापनि पछिल्लो समय आम नारीको साझा चाड भएको तर महंगो र भड्किलो बन्दै गएको तथा महंगो महंगो पाटी प्यालेस र होटलमा चर्को प्रवेश शुल्क लिएर तीज मनाइन थालेपछि तीज पर्व निम्न वर्गका महिलाहरुको पहुंच भन्दा पर हुंदै गएको भन्दै टोल वस्तीभित्र सबै वर्गका महिलाहरुले तीज पर्वलाई रमाउन सकुन् भनेर समुदायस्तरमा तीज पर्वलाई पुर्याउन समुदायमा आधारित तीज विशेष कार्यक्रम गरिएको बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव माधव घिसिङ, महासमिति सदस्य जगत कार्की, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, नेपाल महिला संघ सुनसरीकी सभापति विजया कटवाल, महाधिवेशन प्रतिनिधि पुजा धामी, बराहक्षेत्र नगर उपसभापति जितबहादुर कार्की, बराहक्षेत्र ५ नं. वडा सभापति दिलबहादुर पौडेल, आर्थिक संयोजक धनराज राउत लगायतले मन्तव्य राखेका थिए ।
समुदायमा आधारित तीज विशेष कार्यक्रम धरान उपमहानगरको पटनाली र महादेव चौक, बराहक्षेत्र नगरको चतरा तथा रामधुनी नगरको बक्लौरीमा समेत आयोजना हुने क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताए ।