धरान:धरानबाट नगद सहित एक जनालाई पक्राउ गरिएको छ ।
मोरङ रंगेली नगरपालिका वडा नं.५ बस्ने २२ बर्षको दिपक कुमार ऋषिदेवलाई रु.४ लाख ८० हजार ८५० (चार लाख अस्सी हजार आठ सय पच्चास) नगद सहित ईलाका प्रहरी कार्यालय धरानबाट खटिएका प्रहरी अधिकृतको टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए ।
धरान उप महानगरपालिका वडा नं.१ पृथ्बीमार्ग स्थित अनुप कुमार अग्रवालले संचालन गरेको हनुमन्त हार्डवेयरबाट लकर (भल्ब ) काटी र पैसा चोरी भएपछि सोही हार्डवेयर पसलमा काम गर्ने दिपक कुमार ऋषिदेवलाई तत्काल नियन्त्रणमा लिई सोधपुछ गर्दा आफैले चोरी गरेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।
उक्त घरको गेट अगाडि सटर माथी कालो प्लाष्टिकमा पोको पारी राखेको रु.२ लाख ९४ हजार ८५० (दुई लाख चौरानब्बे हजार आठ सय पच्चास) र घरको दोश्रो तल्लामा रहेको फ्रिज मुनी राखेको रु.१ लाख ८६ हजार (एक लाख छ्यासी हजार) फेला पारी जम्मा रु. ४,८०,८५०।– (चार लाख अस्सी हजार आठ सय पच्चास) नगद रकम सहित उक्त व्यक्तिलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान कार्य भईरहेको उनले बताए ।