२६श्रावण धरान:बराहक्षेत्र मिडिया प्रालि स्थापनाको चौंथो वर्षमा प्रवेश गरेको छ । बराहक्षेत्रमा रहेर जिल्लाका धार्मिक, पर्यटकीय, विकास, सुशासन, जनहित र ग्रामीण क्षेत्रका विषयलाई प्राथमिकता दिंदै अनलाइन मिडियामार्फत पत्रकारिता क्षेत्रको विकासमा योगदान दिंदै आएको मिडिया प्रालिले शनिबार रामधुनीको झुम्कास्थित म्याजिक थ्रीडी सिनेमा हलमा भव्य समारोह आयोजना गरेको छ ।
पूर्वमन्त्री तथा सङ्घीय सांसद भगवती चौधरीको प्रमुख आतिथ्यतामा वार्षिक उत्सव आयोजना गरेको हो । प्रमुख अतिथि सांसद चौधरीले दीपप्रज्ज्वलनसहित केक काटेर उत्सवको उद्घाटन गरिन् ।
समारोहमा बोल्दै सांसद चौधरीले कठिन परिस्थितिमा ग्रामीण क्षेत्रमा रहेर पत्रकारिताको विकासमा बराहक्षेत्र मिडिया प्रालिले योगदान गरेको बताइन् । उनले जनभावना, चाहना, विकास, समृद्धिलाई मूल मुद्दा बनाएर पत्रकारितालाई निरन्तरता दिन आग्रह गरिन् । उनले लुकेर रहेका व्यथितिलाई उजागर गर्नु चौथो अङ्गका रुपमा रहेको पत्रकारिताको धर्म रहेको बताइन् । आफूले पनि कुनै समय पत्रकारिताको क्षेत्रमा काम गरेकाले चुनौतीहरुका बारेमा जानकार रहेको बताइन् । सांसद चौधरीले दीगो पत्रकारिता कसरी गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिएर मिडिया हाउसले विज्ञापनको क्षेत्रमासमेत काम गर्न सुझाव दिइन् ।
कार्यक्रमका विशिष्ट अतिथि रामधुनी नगरपालिकाका नगरप्रमुख शङ्करलाल चौधरीले नगरको समृद्धि र विकासका प्रचारप्रसारमा बराहक्षेत्र मिडियाले उल्लेखीय भूमिका निर्वाह गरेको बताए । उनले मिडिया हाउसको मुख्य कार्यालय बराहक्षेत्रमा भए पनि आफू छिमेकी पालिका भएकाले पनि मिडियाको विकासमा संवेदनशील भएको बताए ।
वार्षिक उत्सव कार्यक्रममा थारु कल्याणकारी सभाका अध्यक्ष सगेन चौधरी, म्याजिक सिनेमाका सञ्चालक, सिने उद्यमी, कलाकार, पत्रकार, निर्माता निर्देशक पर्शुराम चौधरी, थारु महिला सभा रामधुनी नगर अध्यक्ष लिलीकुमारी चौधरी, राजनीतिकर्मीहरु लक्ष्मण चौधरी, रुद्र दाहाल, देवेन्द्र विष्टलगायतको उपस्थिति थियो । पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई, प्रेस चौतारीका केन्द्रीय सदस्य सन्तोष काफ्ले, प्रदेश सचिवालय सदस्य महेश गुरागाई, धीरेन्द्र चौधरी, सुनिल चौधरीलगायतको उपस्थिति थियो ।
कार्यक्रममा थारु जातिको मौलिक धुम्रा नाच र मायाको चिनो ‘मनाधमा’ (ढकी) मुख्य आकर्षण रहेको थियो ।
दुई पत्रकार सम्मानित
बराहक्षेत्र मिडिया प्रालिको चौथो वार्षिक उत्सवका अवसरमा बराहक्षेत्र र रामधुनीका दुई पत्रकारलाई नगदसहित सम्मान गरिएको छ ।
मिडिया प्रालिका अध्यक्ष प्रदीप बास्मैत चौधरीका दिवंगत माता सामैन चौधरीको नाममा स्थापना गरिएको सम्मानबाट पत्रकारद्वय बराहक्षेत्रका नवराज विष्ट र रामधुनीका पर्शुराम चौधरी सम्मानित भएका हुन् । सम्मानित दुवैलाई प्रमुख अतिथि सांसद भगवती चौधरीसहित रामधुनीका नगर प्रमुख शङ्करलाल चौधरी, मिडिया प्रालिका अध्यक्ष प्रदीप बास्मैत र कार्यक्रम संयोजक मिडिया प्रालीका निर्देशक रमेश थापा हतुवालीले सम्मान अर्पण गरे । पत्रकारद्वयलाई जनही ११ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
अक्षय कोषमा सहयोग
बराहक्षेत्र मिडिया प्रालिद्वारा घोषणा गरिएको अक्षय कोषका लागि विभिन्न दाताले रकम हस्तान्तरण गरेका छन् ।
वार्षिक उत्सवका दिन होटल कोसी प्यालेस चतरा कोसीपुल तथा अप्रिम कन्स्ट्रक्सन प्रालि धरानका प्रोपाइटर सम्पत राईले १० हजार १ सय ११ रुपैयाँ प्रदान गरेका हुन् ।
बराहक्षेत्र मिडियाको प्रत्येक वार्षिक उत्सव कार्यक्रमका दिन ५ वर्षसम्म लगातार सहयोग गर्ने घोषणा गरेको मिडियाका अध्यक्ष प्रदीप बस्मैतले जानकारी दिए ।