५ श्रावण धरान:ताप्लेजुङमा एक वर्षको अवधिमा विपत्जन्य घटनाका कारण ९ जनाको मृत्यु भएको छ । पछिल्लो वर्ष अर्थात् आर्थिक वर्ष २०८०/०८१ मा विपतजन्य विभिन्न घटनामा ९जनाको मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार गत आवमा विभिन्न ६४ वटा विपत्का घटना भएको र उक्त घटनाबाट ९ जनाको मृत्यु भएको छ । यस्तै, विपतजन्य घटनामा परी तीन जना घाइते भएका छन ।
विपतजन्य घटनाअन्तर्गत गत आवमा बाढीपहिरो र चट्याङका कारण नौ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले जानकारी दिए । सहायक प्रजिअ भट्टराईका अनुसार विपतजन्य घटनाबाट ६४ वटा निजी घर पूर्णरुपमा क्षति भएको छ ।
यता, गत आवमा राहत सहयोगबापत विपत् प्रभावित परिवारलाई २४ लाख आठ हजार रुपियाँ रकम वितरण गरेको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला विपत् व्यवस्थापन समितिमार्फत सो राहत रकम वितरण गरिएको सहायक प्रजिअ भट्टराईले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ६१ वटा विपतजन्य घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।