धरान: धरानमा एकतर्फी (वान वे) यातायात सञ्चालनपछि सधै हुने ट्राफिक जामको समस्या समाधान भएको छ ।
साँगुरो सडक दुई तर्फबाट ओहोरदोहोर हुने सवारी चापका कारण सधै ट्राफिक जाम हुने गर्दथ्यो, धरानको व्यस्थ ठाउँको पहिचान गरी वान वे सवारी सञ्चालन गरेपछि भने सडक जामको समस्या समाधानसँगै दुर्घटना न्यूनिकरण समेत भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले यस बर्षको ट्राफिक सप्ताह पनि वानवे सवारी सञ्चालनको विषयमा केन्द्रित रहयो । सागुरो सडक त्यसमाथि सवारी चाप अत्याधिक हुदा १५ मिनेटमा पुग्ने ठाउँमा एक घण्टासम्म लाग्ने गर्दथ्यो । दुर्घटना न्यूनिकरण गर्नका लागि धरान उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी मिलेर वान वे सवारी साधन सञ्चालन भएको हो ।
यसै विषयमा अर्थात दुर्घटना न्यूनिकरणका विषयमा सबै पक्षसँग जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले छलफलको समेत आयोजना गरेको थियो । सो अवसरमा बोल्दै यातायात व्यवसायी नेत्रबहादुर थापाले वान वे सञ्चालनपछि धरानमा सवारी आवागमनमा सहजता भएको र दुर्घटना न्यूनिकरणमा समेत सहयोग पुगेको बताउनुभयो । उहाँले ट्राफिक प्रहरीसहित सरोकारवालापक्ष मिलेर चालक, यात्रुलाई ट्राफिक नियमका विषयमा सचेतना कार्यक्रम सञ्चालन गर्न सकेको खण्डमा दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने बताए ।
यस्तै सुनसरी उद्योग वाणिज्य संघका महासचिव महेन्द्र प्रधानले स्थानीय सरकारसँग समन्वय गरेर ट्राफिक प्रहरीले सञ्चालन गरेको ‘वान वे’ अवधारणा सफल भएको दाबी गरे ।, उनले वानवे सञ्चालनपश्चात व्यापारी व्यवसायीको व्यसायमा केही समस्या भए पनि यसले सबैलाई सहजता प्रदान गरेको बताए ।
सबैको कुरा सुनिसकेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीकाका प्रमुख सुवास केसीले ट्राफिक व्यवस्थापनमा सबैको साथ सहयोगको खाँचो रहेको बताए । उनले ट्राफिक व्यवस्थापन ट्राफिक प्रहरीले एक्लै नसक्ने भएकोले सबैको सहयोगको आवश्यकता भएको बताए ।
धरानको भानुचौक, छाताचौक जस्ता व्यस्त चौकमा सवारी चापका कारण अस्तव्यस्त बनेपछि एक बर्ष अगाडि धरान उपमहानगरपालिकाको पहलमा पहाडी क्षेत्र जाने सवारी साधनका लागि भानुचौकदेखि लक्ष्मीचौकसम्म एकतर्फी जानेमात्र रुट सञ्चालन गरेको थियो भने पहाडी क्षेत्रबाट आएका सवारी साधनलाई लक्ष्मीचौकदेखि पुरानौ बजार हुदै देशीलाइन भएर भानुचौक निस्कने रुट कायम गरिएको थियो ।
यसले सवारी साधन आवागमनमा सहजता प्रदान गरे पनि भित्री सडकमा भने चाप त्यस्तै रहेको थियो । पछिल्लो पटक बीपी क्याम्पदेखि आएका सवारीसाधनलाई पुतलीलाइन हुदै आचार्य लायन भएर भानुचौक छिर्ने र बीपी क्याम्प जाने सवारी साधनलाई भानुचौकबाट सिधै जाने रुट बनाएपछि भानुचौकमा हुने यातायातको चाप घटेको छ । साँगुरो सडक भएको धरानमा एकतर्फी सवारी साधन सञ्चालन भएपछि भने अहिले सवारी चालक, यात्रु, पैदल हिड्ने सर्वसाधारणलाई सहज भएको छ । दिनप्रतिदिन सवारी चाप बढ्दै गएको अवस्थामा एकतर्फी सवारी सञ्चालन पछि ट्राफिक व्यवस्थापनमा समेत सहज भएको छ ।