धरान संगित प्रतिष्ठानले हरेक वर्षको २१ जुनमा पर्ने विश्व संगीत दिवस भव्य सांगीतिक कार्यक्रमका साथ भोली साँझ मनाउने जनाएको छ । बिहिबार प्रतिष्ठानका अध्यक्ष तथा धरान वडा नं. २ का वडा अध्यक्ष समेत रहेका रमेश राईले बरिष्ठ गायक तथा संगितकार दिप श्रेष्ठको विशेष सहभागिता सहित स्थानिय राम्रा राम्रा कलाकारहरुको प्रस्तुति सहित दिवस मनाउने बताए ।
अध्यक्ष राईले कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईको प्रमुख आथित्यतामा बराह सपिङ कम्प्लेसको चौथो तलामा विश्व संगित दिवस भव्यताको साथ मनाईने बताए । धरान संगीत प्रतिष्ठानले यसपाली पनि संगीत क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ । स्थानिय स्तरमा सांगीतिक क्षेत्रमा विशेष योगदान दिएका गायक, संगितकार र प्रशिक्षक संदिप प्रधान र संगीतकार तथा गायन प्रशिक्षक विनोद प्रिर्यदर्शी राईलाई सम्मान गरिने प्रतिष्ठानका सचिव कृष्णराजा श्रेष्ठले बताए ।
प्रतिष्ठानमा धरान जन्मथलो भएका बरिष्ठ गायक तथा संगितकार दिप श्रेष्ठ प्रतिष्ठानका प्रमुख सल्लाहकार सदस्य समेत रहेका छन् भने धरानका मेयर संस्थापक संरक्षक रहेका छन् । अध्यक्ष राई, सचिव श्रेष्ठ सहित ४२ जनाको कमिटि र त्यतीकै हाराहारीमा धरानका साँगीतिक प्रभुत्व कायम भएका सल्लाहाकार सदस्यताको प्रतिष्ठानमा सहभागिता रहेको छ ।