धरान खेलकुद मञ्चले धरान उपमहानगरपालिकामा खेलकुद क्षेत्रमा आवद्ध रहेर कर्म गरेका, योगदान गरेका खेलाडी, प्रशिक्षक र खेलकुदको क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ ।
आज मञ्चले पत्रकार सम्मेलन गरी जेठ १८ गते धरान १५ स्थित धरान किचन सभाहलमा मेयर हर्क साम्पाङको प्रमुख आथित्यतामा कार्यक्रम हुने मञ्चका सचिव विक्रम लिम्बुले बताएका छन् ।
धरानबाट विभिन्न खेलक्षेत्रमा निरन्तर आबद्ध भई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नाम राख्ने खेलाडी तथा प्रशिक्षकको प्रोत्साहन स्वरुप र खेल क्षेत्रमा अतुलनिय योगदान पुर्याउने व्यक्तित्वहरुको सम्मान स्वरुप मञ्चले पहिलो पल्ट कार्यक्रमको आयोजना गर्न लागेको मञ्चका अध्यक्ष किशोर राईले बताए ।
पुरुष तर्फ बेस्ट प्लेयर अफ द अवार्ड २०८०/८१ का लागि विभिन्न मेडल सहित रु. २५ हजार र महिला अवार्डका लागि रु. २५ हजार, प्रशिक्षक अवार्डका लागि रु. २५ हजार र पपुलर राईजिङ प्लेयर अवार्डका लागि रु. ११ हजार प्रदान गर्ने र धरान खेलकुद क्षेत्रमा अतुलनिय योगदान पुर्याउने दुई व्यक्तित्वलाई लाईभ एचिभमेन्ट अवार्डले सम्मान गर्ने मन्चका अध्यक्ष राईले बताए।
लाईभ एचिभमेन्ट अर्वाडका लागि भने अन्तराष्ट्रिय खेलाडी राजुमान श्रेष्ठ र टेवलटेनिसकी अन्तराष्ट्रिय खेलाडी गीता थापा मगर सम्मानित हुने भएका छन् ।
खेलकुदबाट ८ पुरुष र ६ महिला गरी १४ जना मध्ये छनौट समितिले ६ जनाको चयन गरिसकेको छ । छनौट समितिको अनुसार पुरुष तर्फ बेस्ट प्लेयर अफ द ईयरका लागि टेवल टेनिसका खेलाडी सिद्धार्थ तामाङ, फुटबल खेलाडी सनम सादेम्बा लिम्बु मनोनित भएका छन् । त्यसैगरी महिला तर्फ बेस्ट प्लेयर अफ द ईयरका लागि जुडो खेलकी दिपिका आचार्य, बक्सिङ खेलकी जोनु लिम्बु मनोनित भएकी छिन् । प्रशिक्षक तर्फ कराँतेका किरण लामा र बक्सिङका निर्मल लामा मनोनित भएका छन् । यही ६ जना मनोनितबाट पपुलर राईजिङ प्लेयर अफ द इयर २०८०/०८१ छनौट हुने छ ।