कोशी प्रदेशको मन्त्रिपरिषद बैठक मंगलबार धनकुटास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सम्पर्क कार्यालयमा पहिलो पटक बसेको छ । २०७६ साल वैशाख २९ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले सम्पर्क कार्यालयको उद्घाटन गरेका थिए ।
मन्त्रिपरिषद बैठक महिनाको एक पटक धनकुटास्थित सम्पर्क कार्यालयमा बस्ने निर्णय पनि भएको छ । मुख्यमन्त्री कार्कीले नियुक्ती हुदा नै सम्पर्क कार्यालयबाट पनि जनताका काम गर्ने प्रतिबद्धता जनाएका थिए । यसैगरि, खुवालुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको रूपमा विकास गर्ने पनि निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।
मुख्यमन्त्री कार्कीले सम्पर्क कार्यालयमा अब नियमित रूपमा सञ्चालन भई बैठक बस्ने समेत बताए । धनकुटामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले स्वदेशी उत्पादन तथा उपभोगलाई प्रोत्साहन गर्दै प्रदेशको अर्थतन्त्रलाई मजबुत बनाउन प्रदेशका सबै सार्वजनिक निकायले स्वदेशी तथा विदेशी पाहुनाहरूलाई कोसेलीको रूपमा केही वस्तुहरू दिनुपर्दा, कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दा र कर्मचारीको स्वागत तथा बिदाइ गर्दा प्रदान गरिने उपहार प्रदेशभित्रै उत्पादन भएको वस्तु हुनुपर्ने निर्णय गरेको छ ।