झापाको मेची पुलबाट सुरु गरिएको समुदायमा कांग्रेस अभियानअन्तर्गत नेपाली कांग्रेसको ‘संवाद यात्रा’ झापाको मेची पुलबाट सुरु गरिएको छ । महामन्त्री गगन थापाले आज बिहान ८ बजे झापाको मेची पुलबाट यात्रा सुरु गरेका हुन् ।
पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले भाषणरहित ‘संवाद यात्रा’ सुरु गरेका हुन् । यात्रामा जनताका कुरा सुनिने छ । कांग्रेसले आजदेखि माघ २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ । सोही कार्यक्रमसँगै संवाद यात्रासमेत थालिएको हो ।
संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदीप पौडेललगायत सहभागी भएका छन् ।